१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ



लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले उनलाई शनिबार ललितपुरबाट गिरफ्तार गरेको हो।

प्रहरीका एक उच्च अधिकृतका अनुसार भट्टलाई नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। उनी इनम सापकोटासँगको आर्थिक कारोबारमा जोडिएपछि प्रहरी कारबाहीमा परेका हुन्।

यसअघि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेपछि उनको मोबाइलबाट प्राप्त सूचनाका आधारमा इनम सापकोटालाई नियन्त्रणमा लिइएको थियो। हाल प्रहरी हिरासतमै रहेका सापकोटामाथि सूक्ष्म अनुसन्धान जारी छ। सापकोटाको बयान र उनको मोबाइलबाट प्राप्त प्रमाणका आधारमै सुशील भट्टलाई पक्राउ गरिएको उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन्।

पक्राउ परेका सुशील भट्ट सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका व्यापारी दीपक भट्टका दाजु हुन्। चोलेन्द्र पक्राउ प्रकरणलगत्तै दीपक भट्टलाई ललितपुरको नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागार सारिएको छ।

प्रहरीले पूर्वसीईओ सुशील भट्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : १ कार्तिक २०८३, शनिबार  ११ : ३८ बजे