२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

तिहार मनाएर छठका लागि सर्लाही फर्किँदै गरेका १४ जनाको मृत्यु,



तिहार पर्व मनाएर छठको तयारीमा जुटेका सर्लाहीको चन्द्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका बासिन्दाहरू बिहीबार काठमाडौंबाट फर्किंदै गरेका आफ्ना आफन्तको पर्खाइमा थिए। तर, मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको भीषण गाडी दुर्घटनाले उनीहरूको त्यो खुसी क्षणभरमै खोस्यो ।

ललितपुरको टीकाथलीबाट सर्लाहीको चन्द्रघट्टातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस सडकबाट करिब पाँच सय मिटर तल खोल्सामा खस्दा गाडीमा सवार १४ जनाले ज्यान गुमाएका छन् भने मृत्युको मुखबाट जोगिएका ६ जना अहिले अस्पतालको शय्यामा उपचाररत छन्।

दुर्घटनामा परी ज्यान गुमाउनेहरू अधिकांश एउटै टोलका आफन्त हुन्। मृत्यु र जीवनबीचको संघर्षबाट जोगिएर बाँच्न सफल भएका ६ जनामा सर्लाहीको सुन्दरपुर टोलका ३३ वर्षीय मुकेश यादव, २६ वर्षीय देवेन्द्र यादव, ३१ वर्षीय देवेन्द्र राय (बेचु), पाँच वर्षीय सक्षम यादव, तीन वर्षीय सुजन यादव र १४ महिने सुदीप यादव रहेका छन्। घाइतेमध्ये मुकेशको अवस्था सामान्य रहेकाले उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। शरीरमा सामान्य चोट लागे पनि उनी अहिले घाइतेका परिवार र मृतकका आफन्तसँग समन्वय गर्दै राहत तथा व्यवस्थापनमा खटिरहेका छन्।

गाडी रिजर्भ गरेर घर आउने प्रबन्ध मिलाएका मुकेशका अनुसार चालकले गाडी राम्रै चलाउने गरेका थिए। राति १ बजे नै उठेका कारण सबैको निद्रा पुगेको थिएन। राति डेढ बजे गाडी गुडेको केही समयमै उनीहरू निदाएका थिए। ‘बिहानीपख हामी सबै निद्रामै थियौँ, गाडी भीरमा ओइरिएपछि मात्र ब्युँझियौँ,’ दुर्घटनाबाट भाग्यले बाँचेको बताउँदै मुकेशले भने। अर्का घाइते देवेन्द्र राय पनि गाडी खोलामा पुगेपछि मात्र दुर्घटना भएको थाहा भएको बताउँछन्। उनीहरूले घटनास्थलबाटै प्रहरीलाई फोन गरेपछि सुरक्षाकर्मी र स्थानीय बासिन्दा तुरुन्तै उद्धारमा खटिएका थिए। बिहान करिब ५:४५ बजे भएको उक्त दुर्घटनापछि घाइतेहरूलाई हेटौँडा अस्पताल ल्याइएको थियो।

यस दुर्घटनाले केही बालबालिकालाई टुहुरो बनाएको छ भने कतिपयले आफ्नो सिंगै परिवार गुमाएका छन्। सोही गाडीमा सवार दम्पती ३५ वर्षीय गुड्डु यादव र ३२ वर्षीया गायत्रीको घटनास्थलमै मृत्यु भएको छ भने उनीहरूका दुई साना छोराहरू– पाँच वर्षीय सक्षम र तीन वर्षीय सुजन बाँच्न सफल भएका छन्। टाउको र हातगोडामा चोट लागेका सुजनलाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल रिफर गरिएको छ भने सक्षम उपचारपछि डिस्चार्ज भइसकेका छन्।

त्यस्तै, १४ महिनाका बालक सुदीप यादव पनि यस दुर्घटनाबाट जीवितै उद्धार गरिएका छन् तर यो दुर्घटनाले उनको परिवार उजाड बनाइदिएको छ। दुर्घटनामा सुदीपकी आमा, तीन दिदी र दुई जना काकाको समेत ज्यान गएको छ। बाहिरी चोट नदेखिएका सुदीपलाई पनि थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल लगिएको छ। एउटै टोलका १४ जना आफन्त गुमाएपछि बाँचेका घाइतेहरू पनि अहिले शोकमा डुबेका छन्। आँखैअघि अपारप्रियजनहरू गुमाउनुको पीडा र दुर्घटनाको त्यो त्रासदीपूर्ण क्षण उनीहरूका लागि बिर्सन नसक्ने बज्रपात बनेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, बिहिबार  १० : ०९ बजे