अमेरिकाको न्युयोर्क सहरस्थित ब्रुकलिनको फ्ल्याटबुस क्षेत्रमा बुधबार दिउँसो एक तीन तले आवासीय भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा आठ पुगेको छ।
न्युयोर्क अग्नि नियन्त्रण विभाग (एफडिएनवाई) का अनुसार भग्नावशेषबाट थप शवहरू निकालिएसँगै मृतकको सङ्ख्या बढेको हो। दुर्घटनामा अग्निनियन्त्रक र बालबालिकासहित कम्तीमा १९ जना घाइते भएका छन्, जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। भग्नावशेषमा अझै कति जना पुरिएका छन् भन्ने यकिन नभएकाले रातभर खोजी तथा उद्धार कार्य जारी राखिएको छ।
अत्यन्तै जोखिमपूर्ण मानिएको उद्धार कार्यमा बिहीबार बिहानदेखि सुरु भएको वर्षाले थप कठिनाइ निम्त्याएको छ। मौसमविद्हरूका अनुसार दिउँसो र साँझपख भारी वर्षा हुने सम्भावना रहेकाले भग्नावशेष हिलो हुने र बाँकी संरचनासमेत खस्ने उच्च जोखिम बढेको छ। उद्धार कार्यलाई सहज बनाउन न्युयोर्क वातावरण संरक्षण विभागले दुर्घटनास्थल वरपरका करिब १०० वटा भवनको खानेपानी आपूर्ति बन्द गरेको छ। घटनास्थलमा भग्नावशेषको थुप्रोबाट घाइतेहरूलाई स्ट्रेचर र भर्याङको सहायताले बाहिर निकालिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
भवन भत्किनुको यकिन कारण खुल्न नसके पनि न्युयोर्कको भवन विभाग र सुरक्षा निकायले संयुक्त रूपमा अनुसन्धान सुरु गरेका छन्। ‘१३२१ फ्ल्याटबुस एभिन्यु’ स्थित उक्त आवासीय भवन सँगैको ‘२६२५ बेडफोर्ड एभिन्यु’ मा निर्माणाधीन स्थलतर्फ भत्किएको थियो, जहाँ जग खन्ने कार्य भइरहेको थियो। उक्त निर्माण कम्पनीलाई सात महिनाअघि आवश्यक अनुमति र सुरक्षा मापदण्डबिनै संरचना भत्काएको भन्दै सहर प्रशासनले दुई पटक जरिवाना तिराउनुका साथै काम रोक्न आदेश दिएको तथ्य बाहिरिएको छ। यद्यपि, मे महिनामा ती उल्लङ्घनहरू सच्याइएपछि पुनः निर्माण अनुमति दिइएको थियो। हाल प्रशासनले उक्त स्थानको सबै निर्माण अनुमति निलम्बन गरी अनुसन्धान अगाडि बढाएको छ।
क्यारिबियन समुदायको बाहुल्यता रहेको ‘लिटल क्यारिबियन’ का नामले चिनिने फ्ल्याटबुस क्षेत्रमा यस घटनाले गहिरो शोक निम्त्याएको छ। नजिकैको बेथेस्डा चर्चमा आफ्ना आफन्तको अवस्था बुझ्न जम्मा भएका स्थानीयहरूबिच रुवाबासी चलेको छ। भग्नावशेषबाट निर्माण मजदुर रहेका श्रीमान्को शव निकालिएको खबर पाएपछि एक महिला चर्चमै बेहोस भएकी थिइन् भने स्थानीय बासिन्दाहरूले सामूहिक प्रार्थना गरी शोकसन्तप्त परिवारलाई सान्त्वना दिइरहेका छन्। न्युयोर्कका मेयर जोहरान ममदानीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै बिहीबार दिउँसो दुर्घटनास्थल नजिकै पत्रकार सम्मेलनमार्फत पछिल्लो अवस्थाबारे जानकारी गराउने कार्यक्रम रहेको छ।









