५ मंसिर २०८३, शुक्रबार | Sat Nov 21 2026

भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन रविको प्रधानमन्त्री शाहलाई सुझाव



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका क्रममा राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा लामिछानेले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वासको वातावरण बलियो बनाउन भ्रमण केन्द्रित हुनुपर्ने सुझाव दिएका हुन् ।

रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलका अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच झण्डै तीन घण्टा छलफल भएको थियो। भेटमा प्रधानमन्त्री शाहले भारत भ्रमणको कार्यतालिका र एजेन्डाबारे लामिछानेलाई जानकारी गराएका थिए।

‘राष्ट्रिय हितलाई केन्द्रमा राख्दै नेपाल–भारत सम्बन्धलाई अझै मजबुत बनाउने र विश्वासको वातावरण थप राम्रो बनाउने कुराहरूमा भ्रमण केन्द्रित होस् भनेर सुझाव, सल्लाह र शुभकामना पनि दिनुभयो,’ प्रवक्ता खरेलले नेपालखबरसँग भने।

खरेलका अनुसार भारत भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्री शाह आफैँले लामिछानेसँग भेट्ने इच्छा व्यक्त गरेका थिए। निर्वाचन आयोगमा स्थानीय तहको निर्वाचनका विषयमा भएको छलफलमा सहभागी रहेकै बेला प्रधानमन्त्री शाहले लामिछानेलाई फोन गरेका थिए। त्यसपछि लामिछाने सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए।

प्रधानमन्त्री बनेपछि शाह पहिलोपटक भारतको औपचारिक राजकीय भ्रमणमा जाँदैछन्। उनी दुईदिने भ्रमणका लागि आइतबार नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।

यसपटकको भ्रमणमा हवाई प्रवेश मार्ग (एयर रुट) प्रमुख एजेन्डाका रूपमा रहेको छ। जनकपुर र भैरहवाबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारत तयार भए पनि नेपालले महेन्द्रनगरबाट समेत हवाई प्रवेश मार्ग उपलब्ध गराउन जोड दिँदै आएको छ।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहयोग तथा विभिन्न समझदारी र सम्झौताका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले आइतबार साँझ ६ बजे भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। सोमबार बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता हुनेछ। दुई प्रधानमन्त्रीबीचको भेटपछि दिउँसो १२ः२५ बजे समझदारीपत्र (एमओयू) आदानप्रदान तथा दुवै पक्षबाट प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यसअघि रास्वपा सभापति लामिछाने गत जेठ १८ गते सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा गएका थिए। उक्त भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नितिन नवीनलगायतसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शुक्रबार  १० : ०० बजे