३ मंसिर २०८३, बुधबार | Thu Nov 19 2026

ठगी तथा संगठित अपराधको आरोपमा दुई पूर्व श्रममन्त्रीसहित ६ जना पक्राउ



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा संगठित अपराध सम्बन्धी कसूरमा दुई जना पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ । सीआईबीले बुधबार काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सीआईबीका प्रवक्ता एसएसपी अनुप शमशेर जबराका अनुसार पक्राउ पर्नेहरूमा पूर्व श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन् । त्यसैगरी, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन सहसचिवद्वय उमेश ढुंगाना र राजिव पोखरेल तथा तत्कालीन उपसचिव (कानून अधिकृत) निर्मला गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट बुधबार नै पक्राउ अनुमति लिएर उनीहरूलाई नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।

पक्राउ परेकामध्ये अछामको चौरपाटी गाउँपालिका–४ घर भई हाल ललितपुर बस्दै आएका पूर्वमन्त्री कुँवर र सर्लाहीको चक्रघट्टा गाउँपालिका, बेल्हीका पूर्वमन्त्री यादव रहेका छन् । त्यस्तै, ललितपुर महानगरपालिका–२३ का ६४ वर्षीय तत्कालीन सचिव केसी, काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ का तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) ढुंगाना, सोही महाशाखा प्रमुख रहेका सहसचिव पोखरेल र ललितपुरकी ४९ वर्षीया तत्कालीन कानून अधिकृत गुरुङ पक्राउ परेका हुन् ।

नेपाल सरकार र मलेसिया सरकारबीच भएको द्विपक्षीय सम्झौताविपरीत गैरकानूनी रूपमा श्रमिकहरूबाट रकम संकलन गरी ठगी तथा विदेशी मुद्रा अपचलन गरेको आरोप उनीहरूमाथि लागेको छ । अनुसन्धानका क्रममा अमेरिकी डलर ३ लाख ७० हजार ४३९ र बेलायती पाउन्ड (जीबीपी) ३७ लाख १७ हजार ९०.८० गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम अपचलन भएको पाइएको छ ।

अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा मलेसिया पठाउने निर्णय गरी मुलुकको विदेशी मुद्रा सञ्चिति र अर्थतन्त्रमा नोक्सानी पुर्‍याएको उनीहरूमाथि अभियोग छ । साथै, संगठित समूहको लाभका लागि पदीय जिम्मेवारी र कर्तव्यविपरीत श्रमिकमाथि भएको संगठित ठगीमा मौन सहमति जनाएको आरोपसमेत उनीहरूलाई लगाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र र विकास रानाभाटको जाहेरीका आधारमा सीआईबीले यसअघि नै यही प्रकरणमा कैलाश खड्कालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । थप अनुसन्धानका क्रममा तत्कालीन मन्त्री र उच्चपदस्थ कर्मचारीहरूको समेत संलग्नता देखिएपछि बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बुधबार  १० : २९ बजे