सेन्जेन, चीन । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको सेन्जेन पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले विमानस्थलमै पुगेर दुर्लभ एवं न्यानो स्वागत गरेका छन्। पछिल्ला वर्षहरूको चिनियाँ कूटनीतिक प्रोटोकल तोड्दै राष्ट्रपति सी स्वयं विमानस्थल पुगेर ट्रम्पको स्वागत गरेका हुन्। गत सेप्टेम्बरमा सी अमेरिका भ्रमणमा जाँदा ट्रम्पले विमानस्थलमै आएर स्वागत गरेका थिए ।
बुधबार राति एपेक शिखर सम्मेलनको स्वागत रात्रिभोजअघि ट्रम्प, सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एकैसाथ रेड कार्पेटमा देखिएका थिए। सो क्रममा ट्रम्प र पुटिनबीच निकै सौहार्दपूर्ण रूपमा हात मिलाउने र भलाकुसारी भएको थियो। अमेरिकी अधिकारीका अनुसार बिहीबार (आज) सेन्जेनमा ट्रम्प र पुटिनबीच छुट्टै एकल (वान–अन–वान) भेटवार्ता हुने निश्चित भएको छ। साथै, ट्रम्प, सी र पुटिनबीच विश्व राजनीतिमा निकै महत्त्वका साथ हेरिएको ऐतिहासिक त्रिपक्षीय संयुक्त वार्तासमेत आजै हुँदैछ। सन् २०२५ को अगस्टमा अमेरिकाको अलास्कामा भेटेयता ट्रम्प र पुटिनबीच हुन लागेको यो पहिलो प्रत्यक्ष भेट हो ।
त्रिपक्षीय वार्तामा युक्रेन युद्धको विषयमा पनि छलफल हुने ट्रम्पले बताएपछि युक्रेनले आफ्नो सहभागिताबिना युक्रेनबारे कुनै पनि निर्णय नगर्न पुनः अपिल गरेको छ । युक्रेनी विदेशमन्त्री आन्द्री सिबिहाले मस्कोमाथि निर्णायक प्रभाव राख्ने अमेरिका र चीनले झन्डै पाँच वर्षदेखि जारी युद्ध अन्त्य गर्न रुसलाई दबाब दिनुपर्ने बताएका छन् । यता, ट्रम्प, सी र पुटिनको बैठकको नतिजामाथि तत्काल प्रतिक्रिया जनाउन र रणनीति तय गर्न अमेरिकी विशेष दूत स्टिभ विट्कोफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नर बिहीबार जर्मनीमा हुने युरोपेली नेताहरूको ‘कोअलिसन अफ द विलिङ’ बैठकमा सहभागी हुँदैछन् ।
एसिया भ्रमणका क्रममा फिलिपिन्सको मनिलाबाट बुधबार चीन आइपुगेका ट्रम्पले फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरसँगको भेटमा आणविक ऊर्जा सम्बन्धी ठूलै सम्झौता हुन सक्ने संकेत गरेका थिए । सेन्जेन पुगेपछि ट्रम्पले मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग पनि छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका छन्। अर्कोतर्फ, जापानकी प्रधानमन्त्री साने ताकाइची र चिनियाँ राष्ट्रपति सीबीच भने स्वागत रात्रिभोजमा सामान्य हात मिलाउने बाहेक औपचारिक वार्ता नहुने देखिएको छ। ताइवानको विषयलाई लिएर ताकाइचीले दिएको अभिव्यक्तिपछि चीन र जापानबीचको कूटनीतिक सम्बन्ध चिसिएको छ।









