नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक भएको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले आगामी आइतबार र सोमबार (नोभेम्बर २२ र २३) भारतको राजकीय भ्रमण गर्नेछन् ।
कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो भारतीय समयअनुसार ३ः१५ बजे (नेपाली समय ३ः३० बजे) नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा अवतरण गर्नेछन्।
नयाँदिल्ली पुगेपछि उनले आइतबार साँझ ६ बजे भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। ताजमहल होटलमा हुने उक्त भेटवार्तासँगै प्रधानमन्त्री शाहको भारत भ्रमणका औपचारिक कार्यक्रम सुरु हुनेछ।
भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ। त्यसपछि बिहान १०ः४० बजे उनी महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।
सोमबार बिहान ११ बजे प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्नेछन्। दुई प्रधानमन्त्रीबीचको भेटवार्तापछि दिउँसो १२ः२५ बजे समझदारीपत्र (एमओयू) आदानप्रदान तथा दुवै पक्षबाट प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी, प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।
दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ४ः५० बजे भारतबाट स्वदेश फर्किने कार्यतालिका रहेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री शाहको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, द्विपक्षीय सहयोग विस्तार गर्ने तथा विभिन्न समझदारी र सम्झौताका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।









