काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकबाट बायोमेडिकल सेवा शुल्कका नाममा ठगी गरी संकलित रकम गैरकानुनी रूपमा विदेश पठाएको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। निजामती सेवाको सर्वोच्च पद मुख्यसचिवबाट २०८२ मंसिर ९ मा अवकाश पाएका अर्याल ठीक एक वर्षपछि बिहीबार प्रहरी हिरासतमा पुगेका हुन्।
प्रहरीले पक्राउ गर्न लागेको सूचना पाएपछि गत मंसिर २ गते बिहानै भारतको नयाँ दिल्ली उडेका अर्याललाई बिहीबार दिल्लीबाट नियन्त्रणमा लिई सिलगुढीस्थित बागडोगरा विमानस्थल र पूर्वी नाका हुँदै विराटनगरबाट जहाजमार्फत अपरान्ह काठमाडौं ल्याइएको हो। यद्यपि, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भने अर्याललाई मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ। उनलाई म्याद थपका लागि शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइनेछ।
३५ वर्ष लामो निजामती सेवामा २०४६ माघ ४ गते नायब सुब्बाबाट प्रवेश गरी २०८१ भदौ १३ मा मुख्यसचिव बनेका अर्यालका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहँदाको २७ महिने कार्यकाल अभिशाप बनेको छ। सामान्य प्रशासन मन्त्रालयमा १३ महिना बिताएपछि २०७८ मंसिरमा आफैंले रोजेर श्रम मन्त्रालयमा सरुवा मागेका अर्याल सचिव रहँदा मलेसिया जाने श्रमिकमाथि भएको ठगीबाट संकलित रकम सात पटक गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णय भएको सीआईबीको अनुसन्धानले देखाएको छ।
तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरको कार्यकालमा २०७९ भदौ १४ मा १ लाख ३५ हजार ३७५ डलर, असोज ११ मा ६ लाख ६६ हजार ६३६ डलर, कात्तिक २४ मा ७ लाख ३५ हजार ८०३ डलर र मंसिर १९ मा ७ लाख ८० हजार ९८९ पाउन्ड (जीबीपी) मलेसिया पठाइएको थियो। यस्तै, २०७९ पुस ११ मा १७ लाख ४९ हजार ३०९ पाउन्ड, माघ ५ मा हालका सभामुख डीपी अर्याल पहिलो पटक श्रममन्त्री बनेका बेला ९ लाख २५७ डलर तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रम मन्त्रालय सम्हालेका बेला २०७९ फागुन १५ मा १७ लाख १ हजार ५८२ डलर मलेसिया पठाइएको सीआईबीको अनुसन्धानमा भेटिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको हो। २०७२ असारमा ६ महिनाका लागि परीक्षण परियोजनाका रूपमा सञ्चालन अनुमति पाएको उक्त प्रणालीमार्फत २ लाख २२ हजारभन्दा बढी श्रमिकबाट रकम असुलिएको थियो। २०७६ देखि २०८१ सम्म चारवटा नीतिगत निर्णय गरी नेपाल राष्ट्र बैंकमार्फत १७ पटकमा कुल ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड गरी १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ गैरकानुनी रूपमा मलेसिया पठाइएको सीआईबीले जनाएको छ।
यस प्रकरणमा प्रहरीले गत असोज २९ मा म्याक्रोटेक कम्पनीका सञ्चालक कैलाश खड्का, रविन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारीलाई पक्राउ गरेको थियो। त्यस्तै, मंसिर २ गते पूर्वश्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई पक्राउ गरी म्याद थपसहित अनुसन्धान भइरहेको छ।
उक्त प्रकरणमा पूर्वमन्त्री र मुख्यसचिवसम्म तानिए पनि सोही कार्यमा संलग्न देखिएका तत्कालीन श्रममन्त्री एवं हालका सभामुख डीपी अर्याल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका ससुरा पूर्वमन्त्री शरतसिंह भण्डारीमाथि भने सरकारी संरक्षणका कारण अनुसन्धान अघि नबढेको देखिएको छ। डीपी अर्यालको दुई कार्यकालमा तीन पटक र भण्डारीको पालामा चार पटक बायोमेडिकल शुल्कबापतको रकम मलेसिया पठाइएको तथ्य भेटिएको छ।









