काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३ हजार ९१५ जना व्यक्तिलाई मृत्यु भएको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ।
गृहमन्त्री सुधन गुरूङको अध्यक्षतामा आज बसेको समितिको ३८ औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार २९२ जना स्वदेशी र १९ वटा विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी नागरिक गरी कुल ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्युको घोषणा गर्न सक्ने कानुनी प्रावधान रहेको छ। सोही प्रावधान अनुसार, यसअघि प्राधिकरणले स्वदेशीको हकमा स्थानीय तहको सिफारिस तथा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णय र विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकको नेपालस्थित वा नेपाल हेर्ने नियोगबाट प्राप्त सूचीमाथि दाबी पेस गर्न दुई चरणमा सात दिने सूचना प्रकाशन गरेको थियो।
‘सबैका लागि पूर्वसूचना‘ मार्गचित्र स्वीकृत
बैठकले ‘सबैका लागि पूर्वसूचना (Early Warning for All) राष्ट्रिय मार्गचित्र २०८३/०८७’ समेत स्वीकृत गरेको छ। उक्त मार्गचित्रले वि.सं. २०८७ सम्ममा देशका सबै समुदायमा प्रकोपको पूर्वसूचना पुर्याउन बहुप्रकोप पूर्वसूचना प्रणालीको प्रभावकारी विस्तार, स्तरोन्नति र सञ्चालन गर्ने लक्ष्य लिएको छ।
जोखिमयुक्त दुई बस्ती स्थानान्तरण गरिने
त्यसैगरी, कार्यकारी समितिले विपद् जोखिममा रहेका दुई जिल्लाका बस्ती स्थानान्तरण गर्न पनि स्वीकृति प्रदान गरेको छ। जसअनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गे बस्तीका ४० घरधुरीलाई सोही नगरपालिकाको फुदवाङमा र गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित देवल गाउँका ३२ घरधुरीलाई सोही पालिकाको फिलिम गाउँमा स्थानान्तरण गरिने भएको छ।









