१३ मंसिर २०८३, शनिबार | Sat Nov 28 2026

बिचौलिया इनम सापकोटाद्वारा जीवन रक्षाको माग गर्दै मानअधिकार आयोगमा निवेदन



काठमाडौँ । विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको जीवनरक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन परेको छ। सापकोटाका तर्फबाट शुक्रबार उनकी पत्नी कविता पाण्डेले आयोगमा निवेदन दिएकी हुन्। निवेदनमार्फत सापकोटाले गोपनीयताको हक हनन हुने गरी नियोजित रूपमा गैरकानुनी कार्य भइरहेको भन्दै संलग्न व्यक्ति पहिचान गरी कारबाही गर्न तथा आफू र आफ्नो परिवारको जिउ ज्यानको सुरक्षा गर्न माग गरेका छन्।

गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि आफूमाथि धाकधम्की दिई बयान लिइएको सापकोटाको दाबी छ। बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँच स्थलमा पुग्दा प्रहरीले नियन्त्रणमा लिई दुई वटा मोबाइल फोन खोसेर गाडीमा राखेको तथा आँखामा पट्टी बाँधेर लगिएको उनले निवेदनमा उल्लेख गरेका छन्। त्यसपछिका दुई दिन अज्ञातस्थलमा राखेर सोधपुछ गरिएको र घरपरिवारसँग सम्पर्क गर्न खोज्दा समेत नदिइएको उनले बताएका छन्।

सोधपुछका क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, हिमालय होटलका नविन तुलाधर र सर्वोच्च अदालतमा कार्यरत केही न्यायाधीशविरुद्ध प्रमाण र बयान दिन दबाब दिइएको सापकोटाले जनाएका छन्। बयान नदिए झुटा मुद्दा लगाउने तथा आफू र परिवारको ज्यानमै खतरा पुर्‍याउने भन्दै मानसिक यातना दिइएको उनको भनाइ छ।

बयान दिन नमानेपछि लेखिएको व्यहोरा पढ्न लगाइएको र आँखाको पट्टी थोरै माथि सारेर सुनाउने गरी पढ्न बाध्य पारिएको सापकोटाको निवेदनमा उल्लेख छ। जानकारी नै नभएको कुरामा सही गर्न लगाइएको तथा पछि आफूले पढेको अडिओ रेकर्ड गरी सार्वजनिक गरिएको उनको जिकिर छ। अडिओ परीक्षणका क्रममा सोधपुछ गर्दा आवाज आफ्नै जस्तो लागे पनि भनेका कुरा याद नभएको भनी बयान लिइएको र हाल त्यही अडिओका आधारमा बयान दिन मानसिक दबाब दिइँदै आएको उनले बताएका छन्। सापकोटाले झुटा प्रमाण सिर्जना गर्ने तथा अनुसन्धानका सामग्री बाहिर चुहाउने व्यक्तिमाथि छानबिन गरी कानुनबमोजिम सजाय सिफारिस गर्न आयोगसँग आग्रह गरेका छन्।

प्रकाशित मिति : १३ मंसिर २०८३, शनिबार  १२ : १३ बजे