काठमाडौं । भर्खरै भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका प्रधानमन्त्री बालेन्द्र शाहको आगामी चीन भ्रमणको तयारीबारे काठमाडौं र बेइजिङबीच कूटनीतिक छलफल सुरु भएको छ। परराष्ट्र मन्त्रालयका अधिकारी तथा मन्त्रीहरूका अनुसार आगामी फेब्रुअरी ६ मा पर्ने चिनियाँ नयाँ वर्षअगावै, सम्भवतः जनवरी महिनामै प्रधानमन्त्री शाहको चीन भ्रमण हुने सम्भावना रहेको छ।
सरकारी अधिकारीहरूका अनुसार भारत भ्रमण सफल भएको निष्कर्षसँगै प्रधानमन्त्री शाह स्वयं पनि चीन भ्रमणका लागि इच्छुक देखिएका छन्। यस विषयमा एक मन्त्रीले भने, “चिनियाँ पक्षले हाम्रा प्रधानमन्त्रीलाई स्वागत गर्न तयार रहेको संकेत दिएको छ। हामीले उनीहरूलाई उपयुक्त मिति पहिचान गरेर प्रस्ताव गर्न भनेका छौँ। त्यसअनुसार निर्णय गरेर तयारी अघि बढाउँछौँ।” ती मन्त्रीले नेपाली पक्ष हाल बेइजिङबाट आउने औपचारिक मितिको प्रतीक्षामा रहेको जानकारी दिए।
यसअघि प्रधानमन्त्रीको भारत भ्रमणपूर्व लामो समय चीन बसेर काठमाडौं फर्किएका नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सरकारी अधिकारीहरूसँगको भेटघाटलाई तीव्रता दिएका थिए। राजदूत माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईलगायतका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
ती भेटवार्ताहरूमा राजदूत माओमिङले भ्रमणको निश्चित मिति प्रस्ताव नगरे पनि चिनियाँ नयाँ वर्षअघि नै प्रधानमन्त्री शाहलाई बेइजिङमा स्वागत गर्न चीन तयार रहेको सन्देश प्रवाह गरेका थिए। बेइजिङले उपयुक्त मिति प्रस्ताव गरेलगत्तै भ्रमणको औपचारिक तालिका र अन्य तयारी अगाडि बढाइने परराष्ट्र स्रोतले जनाएको छ।









