१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

कैलालीमा खोलामा नुहाउन गएका चार किशोरको मृत्यु



कैलालीको गोदावरी नगरपालिका–९ स्थित खुटिया खोलामा बिहीबार दिउँसो नुहाउन गएका चार किशोरको डुबेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार खोलामा सात जना किशोर पुगेका थिए । तीमध्ये तीन जना पौडिएर ज्यान जोगाउन सफल भए पनि चार जना डुबेर ज्यान गुमाएका हुन् ।

मृतकमध्ये धनगढी उपमहानगरपालिका–५ तारानगरका १६ वर्षीय सक्षम जोशी, हसनपुरका १७ वर्षीय प्रतिक चौधरी, धनगढी–४ का १७ वर्षीय जुम्ल्याहा दाजुभाइ जेब भण्डारी र जाबेज भण्डारी रहेका छन् । उनीहरू चारै जना धनगढीस्थित वाल्मिकी इन्टरनेसनल स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए ।

डीएसपी रणबहादुर चन्दका अनुसार मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उनीहरू साथीहरूको समूहमा जन्मदिन मनाउन खोलामा गएका थिए ।

“त्यहाँ केक पनि काटिएको रहेछ । लुगा फुकालेर तलतिर पुगेका उनीहरू सातै जना हात समातेर फर्कँदै गर्दा चार जना गहिरो भागमा अड्किए । हात छुटेपछि तीन जना पौडिएर निस्कन सफल भए,” डीएसपी चन्दले बताए ।

उनीहरू दिउँसो करिब साढे १२ बजे डुबेका थिए । स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्दा उनीहरूको शव अपराह्न साढे ४ बजे भेटिएको हो । साथै गएका १७ वर्षीय नवीन डडाल, युवराज कुँवर र आकाश मल्ल भने सकुशल छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  १० : १३ बजे