नेपालले कतारलाई उपहार स्वरुप दिने भनिएका दुई हात्ती छावालाई अबको दुई महिनाभित्र पठाउने तयारी भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका र हाल सौराहास्थित हात्तीसारमा रहेका रुद्रकली र खगेन्द्र प्रसाद नामका दुई हात्तीलाई कतार पठाउन प्रक्रिया सुरु गरिएको निकुञ्जका सूचना अधिकारी अभिनाश अधिकारीले जानकारी दिए ।
२०७५ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले दुई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । २०८१ वैशाखमा कतारका राजा शेख तामिम बिल हमाद अल थानीको नेपाल भ्रमणका बेला पनि यो विषय चर्चामा आएको थियो। तर, कतारमा हात्ती राख्न वातावरणमैत्री संरचना तयार नभएकाले त्यतिबेला पठाउन सकिएको थिएन।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार आवश्यक तयारी र कागजी प्रक्रिया प्रायः सकिइसकेको छ। “खोर निर्माण, वातावरणीय प्रतिवेदन, अनुमति लगायत प्रक्रिया पूरा भइसकेका छन्। ढुवानीको प्रवन्ध मिलाउन मात्रै बाँकी छ,” उनले भने।
हात्तीलाई भैरहवासम्म ट्रकमार्फत लैजाने र त्यहाँबाट कतार कार्गो एयरमार्फत पठाउने तयारी गरिएको विभागले जनाएको छ। खोरसहित ट्रक निर्माण कार्य भइरहेको छ।
वन तथा वातावरण मन्त्रालयका अनुसार हात्ती दुर्लभ प्रजातिको वन्यजन्तु भएकाले अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को सिफारिस पनि आवश्यक थियो। मन्त्रालयले त्यसको अनुमति प्राप्त भइसकेको जनाएको छ।
रुद्रकली ७ वर्ष र खगेन्द्र प्रसाद ६ वर्षका छन्। हात्ती पठाउँदा उनीहरूको हेरचाहका लागि एक जना हात्ती विज्ञ र दुई जना माउतेसमेत सँगै कतार जाने तयारी भएको मन्त्रालयले जनाएको छ।