१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

जेनजी प्रदर्शनमा व्यापक दमन, प्रहरीको गोलीबाट १७ जनाको मृत्यु, २१६ बढी घाइते



काठमाडौंमा जारी ‘जेनजी’ प्रदर्शनमा प्रहरीको दमनबाट ठूलो मानवीय क्षति भएको छ । सोमबार दिउँसोसम्म मृत्यु हुनेको संख्या १७ पुगेको छ भने २१६ भन्दा बढी घाइते भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न सात अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । तीमध्ये २२ जनाको अवस्था गम्भीर छ ।

कुन अस्पतामा कति मरे

– ट्रमा सेन्टरमा ६ जनाको मृत्यु र ५० घाइते, जसमा ४ जनाको अवस्था गम्भीर ।

– एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु र ३४ घाइते ।

– सिभिल अस्पतालमा ३ जनाको मृत्यु र १०० घाइते, सबैभन्दा बढी ।

– काठमाडौं मेडिकल कलेज (केएमसी)मा २ जनाको मृत्यु र ४१ घाइते, जसमा ८ जना गम्भीर।

– त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु र २४ घाइते, जसमा ८ गम्भीर।

– पाटन अस्पतालमा ४ जना गम्भीर घाइते उपचाररत छन् ।

मृतकमध्ये केही स्कुले बालबालिका रहेको पुष्टि भएको छ भने पहिचान खुल्न बाँकी छ।

हिंसात्मक रूप लिएको प्रदर्शन

माइतीघर मण्डलाबाट बिहान शान्तिपूर्ण रूपमा सुरू भएको जेनजी प्रदर्शन नयाँ बानेश्वर पुग्दा हिंसात्मक मोड लिएको हो । संसद भवन प्रवेश गर्ने प्रयास, गेट भत्काउने र भित्रै आगजनी भएपछि प्रहरीले अश्रुग्याँस, रबरको गोली र अन्ततः गोली चलाएको थियो ।

यो घटनालाई नेपालमा कुनै पनि आन्दोलनको पहिलो दिनमै भएको सबैभन्दा ठूलो मानवीय क्षति मानिएको छ ।

राजनीतिक प्रतिक्रिया

घटनापछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा साँझ ५ बजे बैठक बस्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जनाएका छन् । बैठकले जेनजी आन्दोलन र सामाजिक सञ्जाल बन्दबारे पार्टीको आधिकारिक धारणा तय गर्नेछ ।

यसअघि महासचिव गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटी सरकारको ध्यानाकर्षण गराउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ४ : ५२ बजे