१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा, १५ लाख क्षतिपूर्ति



भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने सरकारले निर्णय गरेको छ।

मन्त्रिपरिषद् विस्तार भएसँगै सोमबार बसेको बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएका हुन्।

उनका अनुसार, ज्यान गुमाउनेलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने, असोज १ गते शोक मनाउने र परिवारलाई क्षतिपूर्ति स्वरूप १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ। यसअघि नै दिइँदै आएको १० लाखमा थप ५ लाख गरी यो रकम वितरण गरिनेछ। रकम अर्थ मन्त्रालयमार्फत निकासा भई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत पीडित परिवारले पाउने व्यवस्था मिलाइएको छ।

यदि ज्यान गुमाउने व्यक्ति दुर्गम जिल्लाका भए, अन्त्येष्टिका लागि यातायात तथा हवाई खर्च समेत सरकारले बेहोर्ने भएको छ।

सरकारले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको नि:शुल्क उपचार निरन्तर गर्ने र दमन भएको भन्ने आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, ज्यान गुमाएका व्यक्तिहरूको स्मरणमा “जेनजी जागरण स्मारक पार्क” निर्माण गर्ने र त्यसका लागि उपयुक्त स्थान खोजी गर्ने निर्णय पनि बैठकले गरेको गृहमन्त्री अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १० : ३३ बजे