राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सम्बद्ध सबैलाई आह्वान गरेका छन् ।
संविधान दिवस (राष्ट्रिय दिवस)–२०८२ का अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने उपाय नभएपछि आम सहमतिले मुलुकलाई निकास दिएको स्मरण गरे। उनले छ महिनाभित्र निर्वाचन सम्पन्न गर्नेगरी राजनीतिक सहमति बनेको उल्लेख गर्दै सो प्रक्रियामा सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
राष्ट्रपति पौडेलले राजनीतिक दल, प्रशासनिक निकाय, बौद्धिक समुदाय र नागरिकलाई असहमति र द्वन्द्व छोडेर सहकार्यसाथ निर्वाचन सफल बनाउन आग्रह गरे। उनले लोकतन्त्र हरेक पुस्ताको सहभागिताले बलियो हुने विश्वास व्यक्त गर्दै आफू पनि १७ वर्षको उमेरदेखि प्रजातान्त्रिक आन्दोलनमा संलग्न भएको स्मरण गरे।
उनले संविधान दिवसको अवसरमा “हामी लोकतन्त्र र सुशासनप्रति प्रतिबद्ध रहन्छौँ, राजनीति र राज्य सञ्चालनलाई निष्ठा र मूल्यमान्यतामा आबद्ध गर्ने संकल्प गरौँ” भन्दै सबैलाई सङ्कल्पबद्ध हुन आह्वान गरे।
प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
टुँडिखेलमा आयोजित संविधान दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवस उत्सव मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन भएको बताइन्।
उनले संविधान कार्यान्वयनका एक दशकको समीक्षा गरी नयाँ कार्यदिशा तय गर्नुपर्ने आवश्यकता औंल्याउँदै जनआकांक्षा अनुसार पारदर्शी, भ्रष्टाचारविहीन र सुशासनयुक्त शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइन्।
“देश संकटमा रहँदा युवा पुस्ताको आग्रहमा नेतृत्व लिएको हुँ, संक्रमणको व्यवस्थापन गर्दै संविधानअनुसार छ महिनाभित्र निर्वाचनमार्फत जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछौँ,” कार्कीले स्पष्ट गरिन्।
यसैगरी संविधान दिवसका अवसरमा प्रमुख दलका नेताहरूले आ–आफ्ना सन्देश दिएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान जनताका क्रान्ति र संघर्षको उपलब्धि भएको बताउँदै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले संविधानले हरेक नागरिकलाई समानता र स्वतन्त्रताको अनुभूति दिलाएको दाबी गरे।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू राजीनामा दिएपछि सार्वजनिक र निजी सम्पत्ति तोडफोड गरिएको भन्दै आपत्ति जनाए। उनले संविधानमाथि आक्रमण भइरहेको दाबी गर्दै मुलुकको सार्वभौमसत्ता जोगाउन सबै पुस्ता एक हुनुपर्ने बताए।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै शक्तिबीच दह्रो एकताको आवश्यकता औंल्याए। उनले भदौ २३ र २४ का घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे।









