भारतका चर्चित जलवायु एवं शिक्षासम्बन्धी अभियन्ता सोनम वाङ्चुकलाई प्रहरीले पक्राउ गरी राष्ट्रिय सुरक्षा ऐन (एनएसए) अन्तर्गत मुद्दा दर्ता गरेको छ। उनको पक्राउसँगै लद्दाखस्थित लेहमा इन्टरनेट सेवा बन्द गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
वाङ्चुक पछिल्ला दिनहरूमा लद्दाखमा चर्किँदै गएको जेन-जी आन्दोलनसँग सक्रिय रूपमा आबद्ध हुँदै आएका थिए। उनी उठाउँदै आएका मागलाई जेन-जी समूहले समर्थन पनि गरेको थियो। लद्दाखलाई राज्यको मान्यता दिनुपर्ने र संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने मागसहित आन्दोलन भइरहेको छ।
बुधबार भएको हिंसात्मक झडपमा चार जनाको मृत्यु र ९० जना घाइते भएका थिए। आन्दोलनकारी र सुरक्षाकर्मीबीच भएको भिडन्तपछि तनाव थपिएको हो।
सन् २०१९ मा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले जम्मु-कस्मिरको विशेष राज्यको मान्यता दिने संवैधानिक प्रावधान खारेज गर्दै लद्दाखलाई केन्द्र सरकार मातहतको युनियन टेरेटरीमा परिणत गरेको थियो। भारतीय संविधानको छैटौँ अनुसूचीले लद्दाखजस्ता आदिवासी समुदायको बाक्लो उपस्थिति रहेका क्षेत्रलाई विशेष अधिकारसहित स्वायत्त राज्यको व्यवस्था गरेको छ।
वाङ्चुकले गत सेप्टेम्बर १० मा लेहमा आमरण अनशन सुरु गरेका थिए। उनले लद्दाखलाई छैटौँ अनुसूचीमा समावेश गर्ने, राज्यको मान्यता दिलाउने र वातावरण संरक्षणको ग्यारेन्टी गर्ने माग राखेका थिए। तर सेप्टेम्बर २४ मा भएको हिंसात्मक घटनापछि उनले अनशन तोडेका थिए।
यसैबीच, आम आदमी पार्टी (आप) ले वाङ्चुकको गिरफ्तारीविरुद्ध शुक्रबार साँझ जन्तर-मन्तरमा दीप प्रज्वलन कार्यक्रम गर्ने घोषणा गरेको छ। वाङ्चुकले जेन-जी विद्रोहबारे प्रतिक्रिया दिंदै दक्षिण एसियामा युवाहरूको सक्रियता बढ्दै गएको र यसको पछिल्लो उदाहरण नेपालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न सफल भएको बताए।
जम्मु-कस्मिरका पूर्वमुख्यमन्त्री ओमर अब्दुल्लाहले वाङ्चुकको गिरफ्तारीलाई दुःखद् भनेका छन्। उनका अनुसार, लद्दाखलाई जम्मु-कस्मिरबाट छुट्याएर केन्द्र सरकार मातहत ल्याउने निर्णयपछि त्यहाँको जनभावनालाई उपेक्षा गरिएको छ।









