राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको आइतबार चाबहिलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले विभिन्न विभागका पदाधिकारी र सदस्यहरूमा हेरफेर गर्दै नयाँ जिम्मेवारी तोकेको छ।
पार्टी प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख बनाइएको छ। अधिकारी लामो समयदेखि नेपालका विभिन्न अनुसन्धान कार्यमा संलग्न रहेका छन्।
त्यस्तै, रामप्रसाद भट्टराईलाई केन्द्रीय प्रशिक्षण विभाग सदस्य को जिम्मेवारी दिइएको छ। भट्टराई नेपाल स्काउटका पूर्व निर्देशक हुन्। सोही विभागमा डा. कृष्णमान शाक्य लाई पनि सदस्यको रूपमा चयन गरिएको छ। उनी जनस्वास्थ्य विज्ञ हुन्।
बैठकले सुलभ खरेललाई कानुन, न्याय तथा मानव अधिकार विभागको उपप्रमुख बनाउने निर्णय गरेको छ। तोयानारायण पौडेल लाई केन्द्रीय शिक्षा विभाग सदस्य तोकिएको छ। उनी ह्वाइट हाउस कलेजका प्राचार्य हुन्।
बोधनारायण श्रेष्ठ लाई केन्द्रीय संगठन विभागको उपप्रमुख तोकिएको छ। श्रेष्ठ व्यवस्थापन विज्ञ हुन्। सोही विभागमा पार्थीवेन्द्र उपाध्याय लाई पनि शिक्षा विभाग सदस्यका रूपमा मनोनीत गरिएको छ।
रास्वपाले ज्ञानु पौडेललाई केन्द्रीय महिला विभाग सदस्य, अर्जुन अधिकारीलाई प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुख, र मनिराम घिमिरेलाई केन्द्रीय शिक्षा विभाग सदस्य को जिम्मेवारी तोकेको छ।
त्यसैगरी, कल्पना पाण्डे लाई केन्द्रीय महिला विभाग सदस्य र ज्ञानेन्द्र महता लाई विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव तोकिएको छ।
बैठकले प्रमिलाकुमारी सिंहलाई नीति विचार विभाग सदस्य बनाउने निर्णय पनि गरेको छ।
प्रवक्ता झाले बताएअनुसार, यी सबै नियुक्तिहरू पार्टीको संगठन सुदृढीकरण, नीति विकास र कार्यगत समन्वयलाई प्रभावकारी बनाउनका लागि गरिएको हो।










