८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

पाँच वर्षभित्र नेपाललाई ‘डिजिटल हब’ बनाउने गगन थापाको योजना



नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्षभित्र नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय केन्द्र (डिजिटल हब) बनाउने लक्ष्यसहितको महत्त्वाकांक्षी योजना अघि सारेका छन् ।

सोमबार एक भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड बनाउने गरी चार प्रमुख योजनाहरू सार्वजनिक गरेका हुन् । यसअघि आफूले कीर्तिपुरको एउटा राजनीतिक सभामा ल्यापटप चलाएर महिनाको लाखौँ कमाउन सकिने भनी दिएको अभिव्यक्तिलाई ट्रोल गरिए पनि त्यो कुनै उडन्ते सपना नभई स्पष्ट खाकासहितको योजना भएको उनले पुन: दोहोर्‍याएका छन् ।

सभापति थापाले अघिल्ला सरकारहरूले गरेका केही कानुनी सुधारका कारण सूचना प्रविधि क्षेत्रमा सकारात्मक संकेत देखिएको उल्लेख गर्दै अब त्यसलाई थप गति दिनुपर्नेमा जोड दिए । सन् २०२४ देखि २०३४ सम्मलाई ‘आइटी दशक’ को रूपमा अघि बढाउँदै १० वर्षमा ३० खर्ब बराबरको सेवा निर्यात गर्ने र ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य प्राप्त गर्न सकिने उनको दाबी छ। थापाका अनुसार प्रतिबद्ध भएर काम गरेमा पाँच वर्षभित्रै ४ खर्ब बराबरको आईटी निर्यात, २ लाख प्रत्यक्ष रोजगारी र कम्तीमा ५ वटा नेपाली आईटी कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्न सम्भव छ।

आफ्नो कार्ययोजना स्पष्ट पार्दै थापाले पहिलो प्राथमिकतामा ‘स्थिर कर नीति’ लाई राखेका छन् । नीतिगत स्थिरताले मात्र यो क्षेत्र फस्टाउन सक्ने उनको तर्क छ। दोस्रो योजनामा मानव संशाधन विकासलाई जोड्दै उनले वर्षेनी उत्पादन हुने १५ हजार स्नातक र बजारको मागबीच रहेको खाडल पुर्न सरकारी र निजी क्षेत्रको सहकार्यमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए । उनका अनुसार पहिले ट्यालेन्ट (जनशक्ति) तयार भएपछि उद्योगहरू आफैँ आकर्षित हुनेछन् ।

तेस्रो योजना अन्तर्गत नेपालले अब फ्रिल्यान्सिङ र बीपीओमा मात्र सीमित नभई आफ्नै ‘डिजिटल प्रोडक्ट’ विकास गर्नुपर्नेमा उनले जोड दिएका छन् । यसका लागि स्टिम शिक्षा, अनुसन्धान र विकासमा १० प्रतिशत कर छुट तथा भारतको सफ्टवेयर टेक्नोलोजी पार्कको मोडलमा एकीकृत डिजिटल इकोसिस्टम निर्माण गर्नुपर्ने उनको प्रस्ताव छ । साथै, दुई लाखभन्दा बढी ‘गिग वर्कर’ हरूलाई श्रम ऐन संशोधनमार्फत सामाजिक सुरक्षामा आबद्ध गराउने योजना पनि उनले अघि सारेका छन् ।

चौथो महत्वपूर्ण बुँदामा थापाले नेपालको हरित ऊर्जा (जलविद्युत) लाई प्रयोग गरी ‘ग्रीन डाटा सेन्टर’, एआई, र ब्लकचेन जस्ता बढी ऊर्जा खपत हुने सेवाहरूमा विश्व बजारसँग प्रतिस्पर्धा गर्नुपर्ने उल्लेख गरे । पुराना र साँघुरा कानुनहरूलाई परिमार्जन गर्दै नेपाली कम्पनीहरूलाई विदेशमा लगानी गर्न सहज बनाउने र वैदेशिक लगानीको सीमा हटाएर स्वचालित प्रणाली लागू गर्ने जस्ता सुधारलाई निरन्तरता दिँदै नेपाललाई डिजिटल युगमा लैजान कांग्रेस प्रतिबद्ध रहेको सभापति थापाले बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १० : ५१ बजे