८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

गृहमन्त्री गुरुङ विवादमा: स्पष्टीकरणपछि पनि राजीनामाको माग चर्किँदै



काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्ट सँगको कथित व्यापारिक साझेदारीका कारण विवादमा तानिएका छन्। साथै, जेन–जी आन्दोलनपछि खरिद गरिएको सेयर सम्पत्ति विवरणमा नखुलाएको आरोपसमेत उनीमाथि लागेको छ।

सोमबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले आफू निर्दोष रहेको दाबी गर्दै आवश्यक छानबिनमा पूर्ण सहयोग गर्ने बताएका छन्। “पार्टीले गर्ने हरेक निर्णयको पालना गर्नेछु र अनुसन्धानमा सघाउन तयार छु,” उनले उल्लेख गरेका छन्।

तर, जेन–जी आन्दोलनका अगुवाहरूले भने निष्पक्ष छानबिनका लागि गुरुङले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। अभियन्ता माजिद अन्सारीले गृहमन्त्री पदमै रहेर अनुसन्धान हुँदा स्वार्थको द्वन्द्व हुने तर्क गर्दै तत्काल राजीनामा आवश्यक रहेको बताए। उनका अनुसार छोटो समयमै अनुसन्धान सम्पन्न गरी निर्दोष प्रमाणित भए पुनः जिम्मेवारी सम्हाल्न सकिनेछ।

अर्की अभियन्ता तनुजा पाण्डे ले पनि गृहमन्त्रीमाथि उठेका नैतिक प्रश्नको निष्पक्ष जवाफ आवश्यक रहेको बताउँदै पदमा बसेरै छानबिन गर्नु उपयुक्त नहुने धारणा राखिन्। उनले हालसम्मका आर्थिक गतिविधि र सम्पत्ति विवरणबारे शंका उत्पन्न भएको बताइन्।

यद्यपि, अर्का अभियन्ता उपार्जुन चाम्लिङ ले भने स्पष्टिकरण नसुनी राजीनामा माग्नु हतारो हुने बताएका छन्।

यसबीच, गृहमन्त्री गुरुङमाथि उठेका आरोपहरूको निष्पक्ष छानबिन र त्यसको परिणामले आगामी राजनीतिक दिशा तय गर्ने देखिएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ११ : २५ बजे