५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

डब्लुएचओको आपत्काल घोषणापछि नेपालमा इबोला संक्रमणको जोखिमप्रति सतर्कता



विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल’ घोषणा गरेपछि नेपालले पनि सम्भावित संक्रमणको जोखिमप्रति सतर्कता बढाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कसहित सबै सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

महाशाखाका निर्देशक अनुज भट्टराईले सरोकारवालासँग जोखिम मूल्यांकन र तयारीबारे बैठक गर्ने तयारी भइरहेको बताए । उनका अनुसार रोग प्रभावित देशबाट आउने यात्रुको स्वास्थ्य परीक्षणका लागि विमानस्थलमा २४ सै घण्टा स्वास्थ्यकर्मी खटाइएको छ ।

इबोला अत्यन्त संक्रामक भाइरल रोग हो, जसको मृत्यु दर ८० देखि ९० प्रतिशतसम्म हुन सक्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । विश्वव्यापी आवतजावत बढेकाले नेपाल पनि संक्रमणको जोखिमबाट पूर्ण रूपमा मुक्त नरहेको उनीहरूको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले अफ्रिकी देशमा जाने नेपालीको संख्या बढेकाले कुनै पनि संक्रामक रोगको जोखिमलाई हल्का रूपमा लिन नहुने बताए ।

इबोला प्रभावित कंगो लोकतान्त्रिक गणतन्त्रमा ९७० भन्दा बढी नेपाली शान्ति सैनिक कार्यरत छन् । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार हालसम्म कुनै पनि नेपाली सैनिकमा इबोला संक्रमण पुष्टि भएको छैन ।

विज्ञहरूले प्रयोगशाला क्षमता सुदृढ गर्ने, स्वास्थ्यकर्मीलाई तालिम दिने र निगरानी प्रणाली थप प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ९ : २३ बजे