बेलायती राजकुमार प्रिन्स विलियमले नेपाली पर्वतारोही तथा पूर्वगोर्खा सैनिक निर्मल पुर्जा ‘निम्स दाइ’लाई विश्वकै महान् पर्वतारोहीमध्ये एक र अद्वितीय व्यक्तित्वका रूपमा स्मरण गरेका छन् ।
पुर्जाको निधनप्रति शोक व्यक्त गर्दै राजकुमार विलियमले आफू मर्माहत भएको बताएका छन् । ‘द प्रिन्स एन्ड प्रिन्सेस अफ वेल्स’को आधिकारिक एक्स अकाउन्टबाट जारी शोक सन्देशमा उनले पुर्जाको साहस, निरन्तर प्रयास तथा नम्र र निस्वार्थ स्वभावको प्रशंसा गरेका छन् ।
‘असम्भव देखिने कुरालाई पनि निरन्तर पछ्याउने बानी, अनि नम्र र निस्वार्थपनले उनलाई वास्तवमै अद्वितीय बनाएको थियो। उनको परिवारप्रति मेरो समवेदना छ,’ शोक सन्देशमा भनिएको छ ।
शोक सन्देशको अन्त्यमा राजकुमार विलियमको नामको पहिलो अक्षर ‘डब्लु’ राखिएको छ ।
निर्मल पुर्जाले ब्रिटिश गोर्खामा १६ वर्ष सेवा गरेका थिए । त्यसमध्ये १० वर्ष उनले ब्रिटिश सेनाको स्पेसल फोर्सेजमा बिताएका थिए ।
उनी चिसो मौसममा हुने युद्धका विशेषज्ञसमेत थिए । ब्रिटिश सैन्य सेवामा रहँदा सगरमाथा आरोहण गर्ने पहिलो गोर्खा सैनिकको रूपमा पनि उनले इतिहास बनाएका थिए ।
पुर्जालाई सन् २०१८ मा तत्कालीन बेलायती महारानीबाट मेम्बर अफ द अर्डर अफ द ब्रिटिश एम्पायरबाट सम्मानित गरिएको थियो ।
ब्रिटिश सेनामा लामो समय सेवा गरेपछि पर्वतारोहणमा सक्रिय भएका पुर्जा विश्वका अग्ला हिमालहरूको आरोहणमा बनाएका कीर्तिमानका कारण अन्तर्राष्ट्रिय रूपमा चर्चित थिए ।
राजकुमार विलियमको शोक सन्देशले पुर्जाको निधनप्रति बेलायतको राजपरिवारले समेत गहिरो दुःख व्यक्त गरेको देखाएको छ ।









