१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

सुस्तामा भारतीय सुरक्षाकर्मीले अस्थायी बाँध भत्काउन खोजेको स्थानीयको आरोप



पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीले बाढीको जोखिम कम गर्न स्थानीयले निर्माण गरेको अस्थायी तटबन्ध भत्काउन खोजेको स्थानीयले आरोप लगाएका छन्।

आइतबार दिउँसो करिब ३ बजे सादा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले सुस्ता गाउँपालिका–५, थारूटोलस्थित नारायणी नदीको किनारमा स्थानीयले बनाएको माटोको अस्थायी बाँध खन्न थालेको स्थानीयको भनाइ छ।

सुस्ता बचाऊ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार नारायणी नदीमा तटबन्ध निर्माण गर्न भारतीय पक्षले रोक लगाएपछि बस्तीलाई बाढीबाट जोगाउन स्थानीयले अस्थायी बाँध बनाएका थिए। उक्त बाँध भारतीय सुरक्षाकर्मीले भत्काउन खोजेपछि स्थानीयले प्रतिकार गरेको उनले बताए।

स्थानीयले भारतीय सुरक्षाकर्मीले बाँध खन्दै गरेको भन्दै भिडियो तथा तस्बिरसमेत खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। घटनालाई लिएर विवाद बढेपछि नेपाली सुरक्षाकर्मी पुगेका थिए।

सामान्य विवाद भएको प्रशासनको भनाइ

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने भारतीय सुरक्षाकर्मी माटोको बाँधबारे बुझ्न आउँदा स्थानीयले विरोध गरेपछि सामान्य विवाद भएको बताएका छन्।

उनका अनुसार घटनाबारे सोमबार स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच छलफल गरिनेछ।

तटबन्ध निर्माणमा यसअघि पनि विवाद

नारायणी नदीमा भइरहेको तटबन्ध निर्माणलाई लिएर सुस्तामा यसअघि पनि भारतीय पक्षसँग विवाद हुँदै आएको छ। नदीमा करिब १३२ मिटर क्षेत्रमा तटबन्ध निर्माण गर्न भारतीय सुरक्षाकर्मीले रोक लगाएपछि विवाद भएको थियो।

निर्माणाधीन तटबन्धको पूर्वी सीमातर्फ काम भइरहेका बेला करिब डेढ महिनाअघि भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी नेपाली भूभागमै आएर निर्माण रोक्न भनेको स्थानीयको भनाइ छ।

तटबन्ध निर्माणमा अवरोध भएपछि बस्तीलाई बाढीबाट जोगाउन स्थानीयले केही दिनअघि नारायणी नदी किनारमा माटोको अस्थायी बाँध निर्माण गरेका थिए।

सुस्तामा सुरक्षा उपस्थिति बढाइयो

यसैबीच सरकारले भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीको नारायणीपारिको सीमावर्ती बस्ती सुस्तामा सुरक्षा उपस्थिति बढाएको छ।

गृह मन्त्रालयले गत १९ असारमा जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई पत्राचार गर्दै सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न तथा स्थानीयका समस्या समाधान गर्न निर्देशन दिएको थियो।

निर्देशनपछि सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सुस्तामा परिचालित सुरक्षाकर्मीको संख्या २५ बाट बढाएर ४० पुर्‍याइएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  १० : ०५ बजे