२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार पहिलो उपहार घोषणा हुने



काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ । विभागले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोटको विधि तथा प्रणालीबारे जानकारी गराएको हो ।

सो क्रममा विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि अर्थमन्त्री वाग्लेसमक्ष प्रस्तुत गरेका थिए । विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार कार्यक्रमअन्तर्गत पहिलो उपहार शुक्रबार घोषणा गरिनेछ ।

साउन १ देखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता तथा नगदमा कारोबार गरी आन्तरिक राजस्व विभागको वेबसाइटमा भौतिक बिल अपलोड गर्ने उपभोक्तालाई पहिलो चरणको उपहारमा समेटिनेछ ।

कार्यक्रमअनुसार साउन १ देखि १५ गतेसम्म प्रत्येक दिन भएको कारोबारका आधारमा १५ जना उपभोक्ताले कर कट्टीपछि जनही एक लाख रुपैयाँ नगद उपहार पाउनेछन् ।

त्यस्तै, सो अवधिमा वस्तु तथा सेवा खरिद गर्ने सबै उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँको बम्पर नगद उपहार प्रदान गरिनेछ । बम्पर उपहारको रकममा भने प्रचलित व्यवस्थाअनुसार कर लाग्नेछ ।

अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो ।

हरेक महिनामा दुईपटक उपहार

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते अघिल्लो महिनाको १ देखि १५ गतेसम्म भएको कारोबारका आधारमा उपहार घोषणा गरिनेछ । त्यस्तै, प्रत्येक महिनाको अन्तिम दिन १६ गतेदेखि महिनाको अन्तिम दिनसम्म भएको कारोबारका आधारमा अर्को उपहार घोषणा हुनेछ ।

बैंक तथा डिजिटल वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा स्वतः सहभागी हुनेछन् । तर उपहार दाबीका लागि खरिदको बिल आफूसँग सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ ।

नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भने खरिदपछि अनिवार्य रूपमा प्यान वा भ्याट बिल माग्नुपर्नेछ । उक्त बिल आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरेपछि उपहार कार्यक्रममा सहभागी हुन कुपन प्राप्त गर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

यस कार्यक्रममार्फत उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्नुका साथै कारोबारलाई औपचारिक प्रणालीमा ल्याउने र कर अनुपालन बढाउने सरकारको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  १० : २८ बजे