काठमाडौं । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकमा गएको हिमपहिरोमा परी निधन भएका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को अन्त्येष्टि बेलायतमा गरिने भएको छ ।
प्रतिकूल मौसम र अप्ठ्यारो भूगोलका कारण साउन १४ गतेदेखि अड्किएको उनको शव बुधबार मात्रै फेला पारेर बेस क्याम्प ल्याइएको हो ।
पर्वतारोही एवं उद्धारकर्ता मिङ्मा शेर्पाको नेतृत्वमा गएको टोलीले अत्यन्त चुनौतीपूर्ण अभियानमार्फत निर्मल पुर्जासहित झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव सफलतापूर्वक निकालेको हो। साउन १४ गते १० जना आरोही हिमपहिरोमा परेका थिए, जसमध्ये ३ जना अझै बेपत्ता छन्।
निर्मल पुर्जाको कम्पनीद्वारा जारी वक्तव्यअनुसार बेस क्याम्पबाट उनको शवलाई पाकिस्तानको स्कार्डो पुर्याउन अझै दुई दिन लाग्नेछ। त्यसपछि शवलाई बेलायत लगिनेछ। लामो समय ब्रिटिस आर्मीमा सेवा गरेका पुर्जा बेलायतका स्थायी वासिन्दा हुन् र उनको परिवार लण्डनमै रहेकाले अन्त्येष्टि पनि त्यहीँ गर्न लागिएको हो। उनीसँगै ज्यान गुमाएका अन्य नेपाली आरोहीहरूको शव भने नेपाल ल्याइनेछ।
ब्रिटिस आर्मीको गोर्खा रेजिमेन्ट र प्रतिष्ठित ‘स्पेसल बोट सर्भिस’ (एसबीएस) मा सेवा गरिसकेका म्याग्दीका पुर्जाले ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल ६ महिनाभित्र आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका थिए। यसपटक ती सबै १४ हिमाल अक्सिजनबिनै दोस्रोपटक चढेर आफ्नै रेकर्ड तोक्ने प्रयासमा रहेका बेला उनी दुर्घटनामा परेका हुन्।
उद्धार कार्यमा पाकिस्तान आर्मी, गिल्गिट-बाल्टिस्तान सरकार, ब्रिटिस हाइकमिसन, र नेपाली दूतावासलगायतका निकायहरूले समन्वय गरेका थिए।









