२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

राणा र प्रसाईंले खोल्दै ‘जय नेपाल पार्टी’, साउन २८ गते घोषणा गर्ने तयारी



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवलशम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाइमा नयाँ राजनीतिक दल गठन हुने भएको छ ।

नयाँ पार्टीको नाम ‘जय नेपाल पार्टी’ राख्ने तय भएको राणाले बताएका छन्। उनका अनुसार पार्टी घोषणा र दल दर्ताको तयारी अन्तिम चरणमा पुगेको छ। साउन २८ गते पार्टी घोषणा गरी सोही दिन निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने तयारी भइरहेको छ।

राणाका अनुसार नयाँ पार्टीको अध्यक्ष उनी स्वयं रहनेछन् भने दुर्गा प्रसाईंलाई सर्वोच्च नेता बनाउने सहमति भएको छ। पार्टीको संगठन, नेतृत्व तथा भावी राजनीतिक कार्यक्रमबारे साउन २८ गते औपचारिक घोषणा गरिने उनले बताएका छन्।

राप्रपाका तत्कालीन महामन्त्री राणाले गत जेठ १७ गते पार्टी परित्याग गरेको घोषणा गरेका थिए। उनीसँगै राप्रपाका १८५ जना नेता तथा कार्यकर्ताले पनि पार्टी छाडेका थिए।

त्यसपछि राणाले जेठ २२ गते मेडिकल व्यवसायी प्रसाईंसँग नयाँ राजनीतिक दल गठन गर्ने सहमति गरेका थिए। प्रसाईं लामो समयदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान सञ्चालन गर्दै आएका छन्।

राणाका अनुसार त्यसयता दुवै जना नयाँ पार्टी गठनको तयारीमा जुटेका थिए। अब पार्टी गठनको तयारी पूरा भएको र उनले बताएका छन्।

नयाँ दलले आगामी दिनमा कुन राजनीतिक मुद्दालाई प्राथमिकता दिने, संगठनको संरचना कस्तो बनाउने र देशको राजनीतिको वर्तमान अवस्थाबारे उसको धारणा के हुने भन्ने विषय भने पार्टी घोषणाकै दिन सार्वजनिक गरिने बताइएको छ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ९ : ५९ बजे