२ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026

सनातन धर्मसम्बन्धी प्रस्तावले कांग्रेसमा विवाद, पत्रकार सम्मेलन रोकियो



काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेला/सम्मेलनमा सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रस्ताव अकस्मात अनुमोदन गरिएपछि पार्टीभित्र विवाद चर्किएको छ ।

प्रस्तावमा नेताहरूबीच सहमति नजुटेपछि सम्मेलनका निर्णय औपचारिक रूपमा सार्वजनिक गर्न सोमबारका लागि तय गरिएको पत्रकार सम्मेलनसमेत रोकिएको छ।

भेलाको समापन सत्रमा नेताहरू शंकर भण्डारी र प्रकाशशरण महतलगायतले तयार पारेको पाँचबुँदे प्रस्ताव प्रस्तुत गरिएको थियो। त्यसमा ‘सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता’ जनाउने विषय समेटिएको थियो। प्रस्ताव हलमा सुनाएर ताली बजाउँदै अनुमोदन गराइएको थियो।

तर प्रस्तावप्रति अधिकांश नेताले असहमति जनाएका छन्। पूर्वउपसभापति विमलेन्द्र निधि, महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रमेश लेखक र मीनबहादुर विश्वकर्मालगायतले धर्मसम्बन्धी विषयलाई सम्मेलनको निर्णयमा समावेश गर्न नहुने धारणा राखेका छन्।

प्रस्तावमा नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्दै हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने प्रतिबद्धता जनाउने विषय समेटिएको थियो। साथै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र प्रत्येक व्यक्ति तथा धार्मिक समुदायको धर्म मान्ने स्वतन्त्रता सुनिश्चित गर्ने उल्लेख थियो।

तर नेताहरूबीच सहमति नै नभएको अवस्थामा प्रस्तावलाई हलबाट अनुमोदन गराइएको भन्दै असन्तुष्टि बढेको हो। त्यसैका कारण सम्मेलनका निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने कार्यक्रमसमेत स्थगित गरिएको छ।

नेता मीनबहादुर विश्वकर्माले धर्मसम्बन्धी प्रस्तावलगायत केही विषयमा नेताहरूबीच छलफल भएपछि मात्र पत्रकार सम्मेलन गरिने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत पनि असन्तुष्टि संकेत गर्दै ‘मन मिल्नेसँग कुरा मिलेन। कुरा मिल्नेसँग मन मिलेन। दुवै मिल्नेसँग विचार मिलेन, बात खत्तम, जय नेपाल’ लेखेका छन्।

संस्थापनइतर पक्षका नेताहरूका अनुसार शंकर भण्डारीले बन्द सत्रदेखि नै सनातन हिन्दु धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गर्नुपर्ने धारणा राख्दै आएका थिए। प्रकाशशरण महतलगायत केही नेताले त्यसमा सहयोग गरेको उनीहरूको बुझाइ छ।

भण्डारीले नेता विमलेन्द्र निधिले पेस गरेको राजनीतिक प्रस्तावमा हिन्दु धर्मसम्बन्धी विषय नसमेटिएको भन्दै बन्द सत्रमै असन्तुष्टि जनाएका थिए। निधि भने धार्मिक स्वतन्त्रताको पक्षमा उभिएका छन्।

धर्मसम्बन्धी विषय प्रस्तावमा नआएपछि भण्डारीले यसबारे धारणा राखिदिन निवर्तमान सभापति शेरबहादुर देउवालाई चिट दिएको बताइएको छ। त्यसपछि देउवाले आफू हिन्दु भएको र धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका थिए।

समापन सत्रमा पाँचबुँदे प्रस्ताव सुनाउने क्रममा नेता विमलेन्द्र निधिले मस्यौदाका केही शब्दप्रति असहमति जनाएको प्रकाशशरण महतले पनि बताएका छन्।

संस्थापनइतर पक्षका एक नेताका अनुसार सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गराउन केही नेताले देउवालाई समेत प्रयोग गरेको आरोप छ।

कांग्रेसकै सभापति प्रधानमन्त्री रहेका बेला जारी भएको संविधानमा नेपाललाई धर्मनिरपेक्ष राज्यका रूपमा परिभाषित गरिएको भन्दै अधिकांश नेताहरू संविधानको विद्यमान व्यवस्थालाई परिवर्तन गर्ने संकेत दिने कुनै पनि निर्णय गर्न नहुने पक्षमा छन्।

गगनले देउवालाई भने– ‘दाइ, फेरि ढाँटे’

यसैबीच नेपाली कांग्रेस सभापति गगन थापाले सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा निवर्तमान सभापति शेरबहादुर देउवाबारे टिप्पणी गर्दै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राखेका छन्।

थापाले चुनदेवीस्थित सम्पर्क कार्यालयमा देउवाको नाममा ‘सभापति’ लेखिएको नेमप्लेट राखिएको प्रसंग उठाउँदै देउवालाई सम्बोधन गरेर आफूलाई केही नरमाइलो लागेको बताएका थिए।

उनले विगतमा आफूहरूले देउवासँग निरन्तर संवाद गरेको तर वरिपरिका केही व्यक्तिले देउवालाई गलत सूचना दिएर अलमल्याएको आरोपसमेत लगाए।

‘दाइ, फेरि ढाँटे दाइ’ भन्दै थापाले विशेष महाधिवेशनका क्रममा पनि आफू र विश्वप्रकाश शर्मा देउवालाई भेट्न पुगेको स्मरण गरे। त्यसबेला आफूहरूले केही कुरा राख्न खोजे पनि ‘सबै मिलिसक्यो’ भन्दै आफूहरूलाई गलत जानकारी दिइएको उनको भनाइ थियो।

थापाले कसैले देउवालाई संसद् पुनर्स्थापना हुने वा सबै कुरा ठीक हुने भन्दै बोलाएको र त्यसक्रममा देउवा अलमलिएको बताएका छन्।

उनले देउवाप्रति आफ्नो सम्मान रहेको उल्लेख गर्दै आगामी असोज १६ गते हुने १५औँ महाधिवेशनको उद्घाटन सत्रमा निवर्तमान सभापतिको हैसियतमा देउवालाई बोलाइने बताए।

सभापति थापाले संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गरेको राष्ट्रिय भेला/सम्मेलनका निर्णय नेपाली कांग्रेसको औपचारिक निर्णय नभएको स्पष्ट पारेका छन्।

उनले भेलाबाट आएका प्रस्तावलाई पार्टीभित्र छलफलका लागि ल्याउन आग्रह गर्दै फरक–फरक राजनीतिक दृष्टिकोण हुनु स्वाभाविक भएको बताए।

‘पार्टीभित्र फरक फरक दृष्टिकोण छ, हुन्छ। त्यो महाधिवेशनमा छलफल गर्न सकिन्छ,’ थापाले भनेका छन्।

आगामी महाधिवेशनमा आफूले ‘अबको दशक, देश, लोकतन्त्र र कांग्रेस’ शीर्षकमा राजनीतिक प्रस्ताव पेस गर्ने पनि उनले बताएका छन्।

थापाले विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका आधारमा पार्टीका नेता–कार्यकर्ताबीच विभेद नगर्न आग्रह गरे। विशेष महाधिवेशनमा सहभागी भएकालाई ‘फर्जी’ भन्दै आफ्नै क्षेत्रका नेता–कार्यकर्ताको अपमान नगर्न उनले चेतावनीसमेत दिए।

उनले भोलिदेखि १५औँ महाधिवेशनको प्रक्रिया अघि बढ्ने र त्यसअघि केही दिन नेताहरूसँग संवाद गर्ने बताएका छन्। जिल्ला तथा क्षेत्रीय सभापतिले अधिवेशन गराउन नसक्ने अवस्था आए अर्को व्यक्तिलाई जिम्मेवारी दिने पनि उनको भनाइ छ।

यसरी कांग्रेसभित्र एकातिर संविधानको धर्मनिरपेक्ष व्यवस्थासँग जोडिएको सनातन धर्मसम्बन्धी प्रस्तावले विवाद चर्काएको छ भने अर्कोतर्फ निवर्तमान सभापति देउवाको भूमिकालाई लिएर सभापति थापाको टिप्पणीले पार्टीभित्रको शक्ति संघर्ष र आगामी महाधिवेशनको राजनीतिक समीकरण थप चर्चामा ल्याएको छ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  १० : ०५ बजे