काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो सांगठनिक सञ्जाल विश्वका १०० भन्दा बढी मुलुकमा विस्तार गर्ने लक्ष्य लिएको छ।
नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच आइतबार काठमाडौंमा आयोजित समझदारीपत्र हस्ताक्षर कार्यक्रममा संघका अध्यक्ष डा. हेमराज शर्माले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले नेपाली हुनुको पहिचान भूगोल र कानुनी सीमामा मात्र सीमित नरहेको बताए। विश्वभर बढ्दै गएको नेपाली डायस्पोरा र उनीहरूको आर्थिक तथा व्यावसायिक सामर्थ्यलाई नेपालको विकाससँग जोड्नुपर्नेमा उनले जोड दिए।
शर्माका अनुसार नेपालभन्दा बाहिर रहेको युवा जनशक्तिको संख्या र उनीहरूको आर्थिक उपार्जन क्षमता उल्लेखनीय रूपमा बढेको छ। विदेशमा रहेका नेपालीको सीप, पुँजी र सम्भावनालाई नेपालसँग जोड्नु एनआरएनएको प्रमुख उद्देश्य रहेको उनले बताए।
‘यो भूगोल र कानुनलाई हटाइदिने हो भने हामी जहाँ बसे पनि नेपाली नै हौँ। गैरआवासीय भन्नै परेन,’ उनले भने, ‘कानुनी हिसाबले वा अन्य हिसाबले हामी गैरआवासीय भए पनि नेपाली नै हौँ। यही भावनालाई लिएर अगाडि बढ्नुपर्छ।’
उनले विश्वका साना–ठूला सहरमा नेपाली उत्पादनको पहुँच विस्तार हुँदै गएको बताए। ढुवानी लागत घट्दै गएकाले नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजारमा पहुँच अझ सहज बन्दै गएको उनको भनाइ छ।
शर्माका अनुसार एनआरएनएको अभिलेखमा ११० देशमा नेपालीहरू रहेको देखिन्छ भने ९२ देशमा संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) स्थापना भइसकेका छन्। वर्तमान कार्यकालमा एनसीसीको सञ्जाल १०० भन्दा बढी देशमा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए।
उनले बेलायतको लन्डनजस्ता सहरमा ठूलो संख्यामा नेपाली बसोबास गर्ने भए पनि तुलनात्मक रूपमा थोरै नेपाली रहेका स्थानमा समेत नेपाली उत्पादन पुगिरहेको उल्लेख गरे।
‘लन्डनमा दुई–तीन लाख नेपाली बस्छन्। त्यहाँ गुन्द्रुक पाउन कुनै समस्या छैन। १००–१५० जना नेपाली बस्ने ठाउँमा पनि नेपालको उत्पादन त्यहाँ पुगेकै छ,’ उनले भने।
नेपालबाट विदेशमा सामान पठाउने ढुवानी लागतसमेत घटेको उल्लेख गर्दै उनले प्रतिकेजी ४–५ सय रुपैयाँसम्ममा सामान पठाउन सकिने अवस्था बनेको बताए।
एनआरएनए र नेपाल चेम्बर अफ कमर्सबीच भएको समझदारीले विदेशमा रहेका नेपालीको पुँजी र सीपलाई नेपालमा भित्र्याउन तथा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
शर्माले आगामी दिनमा एनआरएनएको सांगठनिक दायरा विस्तारसँगै विदेशमा रहेका नेपालीको आर्थिक सामर्थ्यलाई नेपालको विकासमा उपयोग गर्ने दिशामा काम गर्ने बताए।









