८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

बलात्कारपछि हत्या आरोपितको भिडिओ सार्वजनिक गराउने हवल्दार पक्राउ



तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका किशोरको बयानको भिडिओ खिचेर जापानमा रहेका व्यक्तिलाई पठाउने प्रहरी हवल्दार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार कुमार विकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । उनले आरोपित किशोरलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा घटनाबारे बयान दिइरहेको भिडिओ खिचेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार विकले उक्त भिडिओ आफैं सामाजिक सञ्जालमा पोस्ट गरेका थिएनन्। उनले भिडिओ जापानमा रहेका एक व्यक्तिलाई पठाएको र त्यहाँबाट सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

“उनले भिडिओ खिचेर जापानमा भएको व्यक्तिलाई पठायो। त्यहाँबाट सामाजिक सञ्जालमा बाहिरिएको देखिन्छ। पछि अरूले पनि हाल्न थाले,” एसपी कुँवरले भने।

एसपी कुँवरका अनुसार भिडिओ प्रहरी कार्यालयमा नभई प्रादेशिक अस्पताल कलैयामा खिचिएको थियो । स्वास्थ्य परीक्षणका लागि आरोपितलाई अस्पताल लैजाँदा बयानको भिडिओ खिचिएको उनले बताए ।

घटनासँग सम्बन्धित भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको भूमिकामाथि व्यापक प्रश्न उठेको थियो । भिडिओमा बलात्कार तथा हत्याका आरोपित किशोरले घटनाबारे विवरण दिइरहेको देखिन्छ ।

एसपी कुँवरले घटनाका क्रममा अस्पतालमा उपस्थित अन्य प्रहरी कर्मचारीमाथि समेत अनुसन्धान भइरहेको जानकारी दिए।

प्रहरीले विकमाथि बालबालिकासम्बन्धी कसुर, गोपनीयतासम्बन्धी कसुर, विद्युतीय कारोबार ऐनलगायत प्रचलित कानुनबमोजिम अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

बाराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा आरोपितको बयानको भिडिओ सार्वजनिक भएपछि सोमबार प्रतिनिधिसभाको बैठकमा समेत सांसदहरूले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए। सांसदहरूले पीडित बालिकाको परिवारको संवेदनशीलता र आरोपितको कानुनी अधिकार दुवैको ख्याल नगरी अनुसन्धानसँग सम्बन्धित सामग्री सार्वजनिक हुनु गम्भीर विषय भएको बताएका थिए।

प्रहरीले भने भिडिओ कसरी सार्वजनिक भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ९ : ४६ बजे