८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

बागमती सरकारमा सहभागी तीन सांसदलाई पदमुक्त गर्न राप्रपाको पत्र



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सरकारमा मन्त्री बनेका आफ्ना तीन जना प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशन उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएको भन्दै प्रदेशसभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गर्न प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंलाई पत्र पठाएका हुन् ।

राप्रपाका अनुसार तीनै जनालाई केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा कारबाही गरिएको हो । पार्टीको पटक–पटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लंघन गरेको तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको उनीहरूमाथि आरोप छ ।

उनीहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गत ४ भदौमा मन्त्री नियुक्त गरेका थिए ।

यसअघि राप्रपा अध्यक्ष लिङ्देनले प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पनि प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न प्रदेशसभामा पत्राचार गरेका थिए । थापा र तीन मन्त्रीलाई पदमुक्त गर्न पार्टीले पठाएको पत्र प्रदेशसभा सचिवालयले हाल विचाराधीन अवस्थामा राखेको छ ।

राप्रपाले आइतबार तीनै मन्त्रीलाई पूर्ण सफाइको मौका दिँदै पुनः स्पष्टीकरणसमेत सोधेको थियो । पार्टीले यसअघि नै सरकारमा सहभागी नहुन निर्देशन दिएको भए पनि त्यसको अवज्ञा गर्दै उनीहरू सरकारमा सहभागी भएको जनाएको छ ।

यसैबीच, उपसभामुख चापागाईंले तीन सांसदलाई पदमुक्त गर्ने विषयमा नेपालको संविधान, प्रदेशसभा सम्बन्धी कानुन तथा अन्य प्रचलित कानुनी व्यवस्थाको अध्ययन गरी आवश्यक सिफारिस पेश गर्न प्रदेशसभा सचिवलाई निर्देशन दिएकी छन् ।

पार्टीको निर्देशन उल्लंघन गरेका प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न मिल्ने वा नमिल्ने विषयमा कानुनी अध्ययनपछि प्रदेशसभा सचिवालयले आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ९ : ४९ बजे