रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको छैटौँ दिनसम्म आइपुग्दा नेपाल सरकार खोज, उद्धार, उपचार र राहत व्यवस्थापनका साथै नागरिकको सुरक्षित पुनःस्थापनामा दृढताका साथ लागिपरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज सामाजिक सञ्जालमार्फत अद्यावधिक जानकारी गराउँदै विपद् व्यवस्थापनका लागि अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक, मिडिया, स्वयम्सेवक, प्रादेशिक तथा स्थानीय सरकारका साथै सहयोग गर्ने मित्रराष्ट्रहरू र अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
प्रधानमन्त्री शाहका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढी सामान्य नभएर हिमाली क्षेत्रमा हिमपहिरोका कारण उत्पन्न यस क्षेत्रकै ठूलो विपत्ति हो। यसले जलवायु परिवर्तनका कारण भोग्नु परेको जोखिमलाई उजागर गरेको र यस विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा बलियो रूपमा उठाउने समय आएको उहाँले उल्लेख गर्नुभएको छ।
खोज, उद्धार, उपचार तथा शव व्यवस्थापनको अवस्था
प्रभावित क्षेत्रहरूबाट हालसम्म ११,३७९ जनाको सकुशल उद्धार भइसकेको छ भने ३,९२५ जना अझै सम्पर्कविहीन रहेकाले खोजी कार्य तीव्र पारिएको छ। उद्धार गरिएका घाइतेमध्ये विभिन्न अस्पतालमा उपचाररत २७९ जनामध्ये १६८ जना डिस्चार्ज भइसकेका छन्। जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरू अन्तर्राष्ट्रिय उद्धारकर्ताहरूसँगको समन्वयमा निरन्तर खटिरहेका छन्।
यस्तै, बाढीमा परी ज्यान गुमाएका हालसम्म ९३९ जनाको शव फेला परेको छ। पहिचान नभएका शवहरूलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका’ बमोजिम डिएनए लगायतका नमुना सुरक्षित राखी वैज्ञानिक प्रक्रियामार्फत सरकार आफैँले व्यवस्थापन गरिरहेको छ भने पहिचान भएका शव आफन्तलाई बुझाइँदै छ।
राहत तथा आर्थिक सहयोगको पारदर्शी व्यवस्थापन
रसुवा, नुवाकोट र धादिङका विभिन्न ४ वटा संकलन केन्द्र र २७ वटा वितरण केन्द्रमार्फत हालसम्म ३,६९६ जना प्रभावित नागरिकलाई हवाई तथा सडकमार्गबाट राहत सामग्री पुर्याइएको छ। राहत संकलन र वितरणलाई प्रभावकारी बनाउन प्रधानमन्त्री सचिवालयका सदस्य तथा कर्मचारीलाई नै स्थलगत रूपमा परिचालन गरिएको छ। अन्तर्राष्ट्रिय स्तरबाट भारत, चीन, अमेरिका, युएई, कतार, जापान, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया लगायतका देशहरूले राहत सहयोग पुर्याइरहेका छन्।
आर्थिक सहयोगका लागि ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालनमा ल्याई प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गरिएको छ। आज मध्यान्हसम्म प्रधानमन्त्री राहत कोषका ९ वटा वाणिज्य बैंक खाताहरूमा कुल ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ र अमेरिकी डलर खाताहरूमा ३१ लाख ९३ हजार २३८ डलर जम्मा भइसकेको छ।
सडक सञ्जाल, पुल, विद्युत् र सञ्चार सेवाको पुनःस्थापना
बाढीका कारण विच्छेद भएको नुवाकोटको त्रिशूलीपारिको भू-भाग गल्छी–त्रिशूली राजमार्गअन्तर्गत कल्लेरीटार, पिपलटार हुँदै त्रिशूली बजारसम्मको वैकल्पिक सडक खोलेर पुनः सीधा पहुँच स्थापित गरिएको छ। क्षतिग्रस्त पुलहरूको ठाउँमा अस्थायी संरचना बनाउन प्राथमिकता दिइएको छ। देवीघाट, त्रिशूली र बेत्रावतीमा बेलिब्रिज राख्ने अध्ययन सकिएको छ भने भारतबाट २३० फिटको मोडुलर स्टिल ब्रिज प्राप्त भइसकेको छ। साथै भारतले थप ७ वटा र चीन सरकारले ३० वटा बेलिब्रिज सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रभावित क्षेत्रहरूमा विद्युत् सेवा तीव्र रूपमा पुनःस्थापना भइरहेको छ। धादिङमा ९८ प्रतिशत र नुवाकोटमा ८५ प्रतिशत क्षेत्रमा विद्युत् सञ्चालन भइसकेको छ भने रसुवाका विभिन्न भागमा सान्जेन जलविद्युत् आयोजना र ५०० थान पोर्टेबल सोलारमार्फत बिजुली पुर्याइँदै छ। त्यसैगरी, नेपाल टेलिकमका ११० वटा र एनसेलका ७५ वटा टावरहरू पुनः सञ्चालनमा आएसँगै सञ्चार सेवा प्रायः सामान्य बन्दै गएको छ।
सरकारले खोज र उद्धारलगत्तै विस्थापित नागरिकहरूको दीर्घकालीन पुनःस्थापना, आवास र मनोसामाजिक सहयोगका लागि स्थानीय सरकारहरूसँगको समन्वयमा क्षति संकलन सुरु गरिसकेको र आवश्यक आर्थिक स्रोत जुटाउने काम जारी रहेको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ।







