२५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026

एप्पलले सार्वजनिक गर्‍यो पहिलो फोल्डेबल फोन ‘आईफोन डुओ’, सुरुवाती मूल्य १,९९९ डलर



प्रविधि क्षेत्रको दिग्गज कम्पनी एप्पलले आफ्नो पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक गरेको छ। १ हजार ९ सय ९९ अमेरिकी डलर सुरुवाती मूल्य तोकिएको यो फोनमा हालसम्मकै ठूलो ७.६ इन्चको सुपर रेटिना एक्सडीआर डिस्प्ले राखिएको छ, जुन आईफोन १८ प्रो म्याक्सभन्दा ५० प्रतिशत ठूलो छ। १० वटा अल्ट्राथिन लेयर र नानो टेक्स्चर फिनिसिङबाट बनेको यसको भित्री डिस्प्लेले चमक घटाएर नयाँ अनुभव प्रदान गर्छ। टिटानियम फ्रेम र हिन्ज कभरयुक्त यो फोनलाई पातलो, सुन्दर र टिकाउ बनाइनुका साथै यसमा अन्डर डिस्प्ले फेसटाइम क्यामेरा लुकाइएको छ।

विशेष क्यामेरा फिचरहरूले भरिपूर्ण यस फोनमा ४८ मेगापिक्सेलको डुअल फ्युजन क्यामेरा सिस्टम छ, जसले अगाडि र पछाडि दुवैतर्फबाट उत्कृष्ट फोटो खिच्न मद्दत गर्छ। यसमा ४८ एमपी मुख्य, ४८ एमपी अल्ट्रावाइड, १२ एमपी फ्रन्ट र अन्डर डिस्प्ले गरी बहुउपयोगी क्यामेरा सेटअप छ। समूहमा सबैजना तयार भएको पत्ता लगाएर आफैँ फोटो खिच्ने, बाहिरी डिस्प्लेमा फोटोको लाइभ प्रिभ्यु देखाउने ‘डुओ प्रिभ्यु’, बच्चाहरूको ध्यान लेन्सतिर तान्न एनिमेसन देखाउने ‘किड क्यु’, र बाहिरी डिस्प्लेबाटै साथीहरूलाई जोड्ने ‘डुओ फेसटाइम’ जस्ता नयाँ प्रविधि यसमा समावेश छन्।

उच्च कार्यक्षमताका लागि आईफोन डुओमा भेपर कुल्ड ए२० प्रो चिप प्रयोग गरिएको छ, जसले ए१९ प्रोभन्दा २० प्रतिशत द्रुत ६ कोर सीपीयू र ५० प्रतिशत बढी मेमोरी ब्यान्डविथ प्रदान गर्छ। यसमा रहेको डुअल ब्याट्री सिस्टम, इसिम डिजाइन र सी२ मोडेमका कारण दिनभरि नै सहज रूपमा ब्याट्री टिक्छ। फास्ट चार्जरबाट २० मिनेटमै ५० प्रतिशतसम्म चार्ज हुने यो फोन बाहिरी डिस्प्लेमा ४४ घण्टा र भित्री डिस्प्लेमा ३१ घण्टासम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ।

यसैबीच, एप्पलले नयाँ आईफोन १८ प्रो र प्रो म्याक्स मोडलहरू पनि परिष्कृत क्षमताका साथ ल्याएको छ। शक्तिशाली सिरी एआई, उन्नत फोटो सम्पादन, भिजुअल इन्टेलिजेन्स र चाइल्ड सेफ्टी फिचरयुक्त ‘एप्पल इन्टेलिजेन्स’ ले प्रयोगकर्ताको दैनिक कामलाई थप सहज बनाउनेछ। द्रुत र सुरक्षित कनेक्सनका लागि यी नयाँ मोडलहरूमा वाइफाइ ७, ब्लुटुथ ६, फाइभजी र इसिम जस्ता आधुनिक सुविधाहरू उपलब्ध गराइएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहिबार  ११ : ११ बजे