२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

चिलिमे जलविद्युत आयोजनाको सुरूङमा लेदो पन्छाउने कार्य जारी, पावरहाउस पुग्न अझै ३ दिन लाग्ने



चिलिमे जलविद्युत आयोजनाको अन्डरग्राउन्ड पावरहाउस भेट्न अझै कम्तीमा तीन दिन सुरूङ खन्नुपर्ने अनुमान गरिएको छ। सुरूङभित्र फसेकाहरूको उद्धारका लागि निरन्तर लेदो र गेग्रान हटाउने कार्य भइरहेको छ।

उद्धार कार्यमा प्रत्यक्ष संलग्न सुरूङविद् एवं सांसद श्रीराम न्यौपानेका अनुसार शनिबार बिहान ६ बजेदेखि नै एक्स्काभेटर र ह्विल लोडरको प्रयोग गरी सुरूङभित्रको लेदो पन्छाउने काम जारी राखिएको छ। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले साँझसम्म करिब ६० मिटर लेदो निकालिएको र यही गतिमा काम अघि बढे पावरहाउससम्म पुग्न थप तीन दिन लाग्ने बताएका छन्।

यसैगरी, म्यानुअल (हातैले) रूपमा सुरूङको माथिल्लो भाग खोतल्ने कार्य पनि तीव्रताका साथ भइरहेको छ। कुल २४० मिटर दूरीमध्ये हालसम्म १२० मिटर भित्रसम्म पुग्न सफलता मिलेको छ। सुरूङको भित्री भागको वास्तविक अवस्था अझै यकिन भइनसकेकाले उद्धार तथा सफाइको काम पूर्ण रूपमा सम्पन्न हुन थप २ देखि ३ दिन लाग्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १० : २३ बजे