असोज ८ गतेदेखि परेको अविरल वर्षा, बाढी, पहिरो, हावाहुरी र चट्याङका कारण देशभर २१ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बाग्लुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेत लगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार देशभर ४३९ वटा मनसुनजन्य घटना घटेका छन्। प्राकृतिक विपद्का कारण गाउँका साथै सहरहरू समेत डुबानमा परेका छन् भने सडक, पुल, जलविद्युत् आयोजना र खानेपानीजस्ता पूर्वाधारमा गम्भीर क्षति पुगेको छ। मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको र बेपत्ताहरूको खोजी तथा उद्धारमा सुरक्षाकर्मीहरू अहोरात्र खटिरहेको उनले जानकारी दिएका छन्।
विपद्का कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गलगायत मुख्य सडक खण्डहरू प्रभावित भएका छन्। कालीगण्डकीको पक्की पुल बगेको छ भने नारायणी नदीमा क्रुजसिप बगेर पिल्लरमा अड्किएपछि सुरक्षाका लागि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। प्रधानमन्त्री शाहले क्षतिग्रस्त सडकहरू द्रुत गतिमा मर्मत गरी यातायात पुनः सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।
यस्तै, बाढी र पहिरोका कारण प्रसारण लाइनका टावरहरू ढल्दा र सुरक्षात्मक उपाय अपनाउँदा राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको छ। कालीगण्डकी, मर्स्याङ्दी र सेती–मादी करिडोरका जलविद्युत् आयोजनाहरू प्रभावित भएका छन्। विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न प्राविधिक टोलीहरू फिल्डमा खटाइसकिएको छ। महाकाली, सेती, नारायणी र कमला नदीमा पानीको सतह उच्च बढेकाले सीमा नाका तथा तटीय क्षेत्रको आवागमनमा कडाइ गरिएको छ।
हुरीसहितको वर्षाले किसानको धान तथा तरकारी बालीमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले जोखिम अझै कायम रहेकाले नदी तटीय र पहाडी क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र संकट परेमा निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेका छन्। साथै, विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने र कालोबजारी गर्नेहरूमाथि सरकारले कडा निगरानी राखिरहेको चेतावनीसमेत उनले दिएका छन्।









