सरकारविरुद्ध राजनीतिक एवं न्यायिक चलखेल गरेको आशंकामा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले मध्यराति नियन्त्रणमा लिएर करिब १२ घण्टापछि छाडेको छ । संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भई शनिबार दिउँसो स्वदेश फर्किएका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा उनलाई नियन्त्रणमा लिइएको सुरक्षा तथा प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फर्किएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कामार्फत जबरालाई निवासबाटै नियन्त्रणमा लिन लगाइएको थियो। प्रधानमन्त्री कार्यालयका अनुसार जबराले विपक्षी दलका नेताहरूसँग मिलेर सरकार ढाल्ने ‘रोडम्याप’ तयार पारिरहेको सूचनाका आधारमा सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।
विशेष गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जबराको बारम्बार भएको भेटवार्तापछि एमालेले असोज (५–८) को केन्द्रीय कमिटी बैठकबाट ‘संसद् पुनर्स्थापना’लाई मुख्य एजेन्डा बनाएर सडक संघर्षको घोषणा गरेको थियो। जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा विघटन भएको संसद् पुनःस्थापनाको मुद्दामा जबराले रणनीतिक सहयोग गरिरहेको र छठपछि मधेशकेन्द्रित दलहरू (उपेन्द्र यादव, सीके राउत, प्रभु साह) ले गर्ने आन्दोलनसँग समेत उनको ‘कनेक्सन’ रहेको दाबी सरकार पक्षको छ।
त्यस्तै, जेठ ५ मा डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेपछि जबराले न्यायिक मामिला र मुद्दाहरूमा अस्वाभाविक चासो तथा हस्तक्षेप बढाएको आरोपसमेत लागेको छ। एक बहालवाला न्यायाधीशका अनुसार केही मुद्दाका सरोकारवालाहरूसँग भेटघाट गरी सहजीकरण गरेको सूचना सर्वोच्च अदालत र प्रधानमन्त्री कार्यालयसम्म पुगेको थियो।
यद्यपि, पूर्वप्रधानन्यायाधीशलाई कुनै पक्राउ पुर्जी र स्पष्ट कारणविना मध्यराति नियन्त्रणमा लिइएको भन्दै राजनीतिक तथा न्यायिक क्षेत्रमा तीव्र विरोध भएको छ। प्रहरी हिरासतमा राखिँदा राष्ट्रिय मानवअधिकार आयोगको टोलीसमेत भेट्न नदिइएको भन्दै सरकारको कदमप्रति आक्रोश व्यक्त गरिएको छ।
उता नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले भने जबरामाथि ‘जेनजी’ समूहबाट सुरक्षा थ्रेट रहेको सूचना पाएकाले सुरक्षाका लागि नियन्त्रणमा लिइएको दाबी गरेको छ। शनिबार मध्यराति नियन्त्रणमा लिइएका जबरालाई आइतबार दिउँसो २ बजे परिवारको जिम्मा लगाएर घर पठाइएको छ।









