११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

ठाडो खोलाको पहिरोले मर्स्याङ्दी थुनियो, चामे बजारका बासिन्दाको जंगलतिर भागाभाग



लगातारको भीषण वर्षासँगै ठाडो खोलामा आएको पहिरोले मर्स्याङ्दी नदी थुनिएपछि मनाङको सदरमुकाम चामे बजार उच्च जोखिममा परेको छ। नदी थुनिएर आसपासका खोलाहरूमा बाढी बढेपछि चामे बजार पूर्ण रूपमा खाली गराई स्थानीय बासिन्दा, व्यापारी र सरकारी कर्मचारीहरू ज्यान जोगाउन जंगल तथा डाँडातिर उक्लिएका छन्।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चामेकै स्कुल नजिकै ठाडो खोलाले ल्याएको पहिरो र लेदोले मर्स्याङ्दी नदी थिचेर थुनेको हो। चामे बजार चारैतिरबाट बाढी र खोलाले घेरिएपछि स्थानीय बासिन्दा त्रसित बन्दै सुरक्षित ठाउँ खोजेर उक्लिएका हुन्। बाढीका कारण चामेमा ५ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने चामे–बेँसीसहर सडक खण्ड अवरुद्ध भएको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मुक्तिप्रसाद खनालले चामे आसपासका ठाडो खोला, घट्टे खोला र नार खोलामा भीषण बाढी आइरहेको जानकारी दिए। उनका अनुसार मर्स्याङ्दी नदी थुनिएपछि जुनसुकै बेला ठूलो विपत्ति निम्तिन सक्ने जोखिमका कारण सुरक्षा निकाय र नागरिकहरू सुरक्षित स्थानमा सरेका छन्। हाल प्रशासन, प्रहरी र स्थानीय गरी करिब डेढ सय मानिस नयाँ भैरवी गण (नेपाली सेनाको ब्यारेक) मा आश्रय लिएर बसेका छन्। मनाङमा बिजुली सेवा पूर्ण रूपमा ठप्प छ भने उपल्लो मनाङसँगको सम्पर्क विच्छेद भएको छ।

यसैगरी, मनाङको तल्लो तटीय क्षेत्रमा रहेको नासों गाउँपालिकामा पनि उच्च सतर्कता अपनाइएको छ। नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङका अनुसार मर्स्याङ्दीको बहाव बढ्दा ताल गाउँका १२ घर डुबानमा परेका छन्। चामेमा मर्स्याङ्दी थुनिएपछि फुट्न सक्ने जोखिमलाई ध्यानमा राख्दै ताल गाउँ र धारापानीका बासिन्दालाई उच्च स्थानमा बस्न भनिएको छ।

यसैबीच, हिमाली क्षेत्रमा परेको हिमपहिरोका कारण हिम्लुङ हिमाल चढ्न गएका आरोही तथा सहयोगीहरूमध्ये २ जनाको शव चामे ल्याइएको छ भने अन्य १० जना सम्पर्कमा आएका छन्।

यसअघि २०७८ साल जेठ र असारमा मर्स्याङ्दी र स्थानीय खोलामा आएको विनासकारी बाढीले ७५ भन्दा बढी घर र दर्जनौँ पुलहरू बगाएको सम्झना अझै ताजा रहेकाले स्थानीय बासिन्दा सामान्य बाढी आउनेबित्तिकै झनै त्रसित बन्ने गरेका छन्। जंगल तथा ब्यारेकमा आश्रय लिइरहेका पीडितहरूले भने विपद्को यस्तो कठिन समयमा पनि सरकारले उचित र प्रभावकारी उद्धार गर्न नसकेको भन्दै गुनासो गरेका छन्।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ११ : १९ बजे