१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

मनाङको हिमलुङमा हिमपहिरो, हराइरहेका १४ जनाको खोजीमा उद्धार टोली परिचालन



काठमाडौं । मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएका १४ जना नेपाली उच्च हिमाली कामदार तथा गाइडको खोजी तथा उद्धारका लागि सोमबार १४ जनाको विशेषज्ञ टोली परिचालन गरिएको छ।

अन्तर्राष्ट्रिय गाइड एवं इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसनका सञ्चालक मिङ्मा जी शेर्पाको नेतृत्वमा उक्त टोली सोमबार बिहान हिमलुङ आधारशिविर पुगेर खोजी कार्य सुरु गरेको हो।

आइतबार काठमाडौँबाट हेलिकप्टरमार्फत प्रस्थान गरेको उद्धार टोली राति मनाङको चामे र फु गाउँमा बास बसेपछि सोमबार बिहानै आधारशिविर पुगेको थियो। प्रभु हेलिकप्टरका वरिष्ठ क्याप्टेन पासाङ नोर्बु शेर्पाका अनुसार टोलीलाई आधारशिविरमा ओराले लगत्तै उद्धार तथा खोजी अभियानलाई तीव्र पारिएको छ।

यसैबीच, हिमपहिरोमा परी ज्यान गुमाएका दुई जनाको शव चामे अस्पतालबाट कैलाश हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ती शवहरूलाई परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल (टिचिङ) लैजाने तयारी छ।

आगामी शरद् ऋतुको आरोहण अभियानका लागि बाटो बनाउन र आधारशिविर तयार पार्न हिमालयन होलिडेज र इमाजिन नेपालका दुई दर्जनभन्दा बढी कामदार तथा गाइड दुई साताअघि हिमलुङतर्फ गएका थिए। आइतबार बिहान हिमपहिरो गएपछि उनीहरू एकाएक सम्पर्कविहीन बनेका हुन्।

हाल आधारशिविरलाई केन्द्र बनाएर सम्भावित स्थानहरूमा खोजी भइरहे तापनि प्रतिकूल मौसम र हिमाली भूगोलका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण रहेको उद्धार टोलीले जनाएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ११ : ५० बजे