काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकहरूबाट १६ करोड ७१ लाख रुपैयाँ रकम असुल गरेको छ। बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले अध्ययन बिदा दुरुपयोगसम्बन्धी छानबिन प्रतिवेदन शुक्रबार त्रिवि उपकुलपति प्रा.डा. भोला थापालाई बुझाउँदै ७७ जनाबाट उक्त रकम असुल उपर गरिएको जानकारी दिएको हो।
प्रतिवेदनअनुसार अन्य १८ जना प्राध्यापकको ४ करोड ४० लाख रुपैयाँ हिसाब भइसके पनि बुझाउन बाँकी छ भने करिब ४० जना प्राध्यापक पैसा फिर्ता गर्ने प्रक्रियामा रहेका छन्। अनलाइनखबरमा २०८१ मंसिरमा प्रकाशित समाचारपछि डा. जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले अध्ययन बिदा दुरुपयोग गर्ने कुल ४५० जना प्राध्यापक र कर्मचारी पहिचान गरेको थियो। तर हालसम्म करिब १७ प्रतिशतले मात्रै रकम फिर्ता गरेका छन् भने ८३ प्रतिशतले अझै रकम बुझाएका छैनन्।
अध्ययन बिदामा गएकामध्ये २५० जना फर्किएका छैनन् भने बाँकी २०० जना फर्के पनि अध्ययन पूरा नगरी काममा फर्किएका हुन्। अध्ययन पूरा नगरी फर्किएकाहरूको हकमा कसरी र कति रकम असुल्ने भन्नेबारे त्रिवि कार्यकारी परिषद्बाट स्पष्ट निर्णय नहुँदा रकम असुलीमा अन्योलता र ढिलाइ भएको संयोजक डा. काफ्लेले बताए। २०८२ साउन २८ गते गठित समितिको एक वर्षको समयावधि सकिएकाले अब बाँकी असुलीको काम रजिस्ट्रार कार्यालयमार्फत अघि बढाइनेछ।
त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० अनुसार अध्ययन बिदा अवधि समाप्त भएपछि नियमानुसार पुनः विश्वविद्यालयमा सेवा नगरेमा खाइपाइ आएको तलब–भत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने प्रावधान छ। तर धेरैजसो शिक्षक–कर्मचारी बिदा सकिएपछि अमेरिका, अस्ट्रेलिया, क्यानडाजस्ता मुलुकमा पीआर लिएर बस्ने र राजीनामा दिएर लुक्ने गरेको पाइएको छ।
त्रिविले बाँकी रकम असुल गर्न सम्पर्कमा नआएकाहरूलाई आउँदो पुससम्मको समय सीमा दिएको छ। रजिस्ट्रार रवीन्द्र शिवाकोटीले सहायता कक्ष स्थापना गरी चार जना कर्मचारीमार्फत असुली कार्यलाई निरन्तरता दिइने र जुनसुकै हालतमा त्रिविको रकम फिर्ता ल्याइने प्रतिबद्धता जनाएका छन्। समितिले अध्ययन बिदालाई थप व्यवस्थित बनाउन आवश्यक नीतिगत सुधारका लागि समेत त्रिवि नेतृत्वलाई सिफारिस गरेको छ।









