ल्हाक्पा गेलु शेर्पा
न्यूयोर्क, अक्टोबर ४ । शिक्षा, समाजसेवा तथा सार्वजनिक क्षेत्रमा योगदान पुर्याउँदै आएका आङ दावा शेर्पाको आत्मकथा न्यूयोर्कमा आयोजित एक समारोहबीच लोकार्पण गरिएको छ । क्वीन्सको एल्महर्स्टस्थित युनाइटेड शेर्पा एसोसिएसन (शेर्पा किदुग) को गुम्बामा आयोजित कार्यक्रममा पूर्वविद्यार्थी, बौद्ध भिक्षु, विभिन्न संघसंस्थाका प्रतिनिधि, समुदायका अगुवा, परिवारका सदस्य तथा शुभचिन्तकहरूको सयौँको संख्यामा उपस्थिति रहेको थियो ।
“शिक्षा नै भविष्यको आधार हो” भन्ने मूल सन्देशसहित आयोजित कार्यक्रम सोलुखुम्बुको सल्लेरीस्थित श्री जनजागृति माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूको पहलमा आयोजना गरिएको हो । विशेषगरी न्यूयोर्क, न्यू जर्सी र कनेक्टिकटमा बसोबास गर्ने पूर्वविद्यार्थीहरूले कार्यक्रमको संयोजन गरेका थिए ।
पूर्वविद्यार्थी समूहका तर्फबाट काल्साङ छोपेल, पाल्देन शेर्पा, ल्हाक्पा पिनासा शेर्पा र छिरिङ शेर्पालगायतले कार्यक्रम आयोजनामा भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको सञ्चालन काल्साङ छोपेलले गरेका थिए ।
कार्यक्रम सञ्चालनका क्रममा काल्साङ छोपेलले आङ दावा शेर्पाले शिक्षा क्षेत्रमा पुर्याएको योगदान र उनबाट विभिन्न पुस्ताका विद्यार्थीले प्राप्त गरेको मार्गदर्शनको स्मरण गरे । उनले कार्यक्रम एउटा पुस्तक लोकार्पणमा मात्र सीमित नभई आफ्ना पूर्वगुरुप्रति विद्यार्थीहरूले व्यक्त गरेको सम्मान र कृतज्ञताको अवसरसमेत भएको उल्लेख गरेका थिए । उनले आङ दावा शेर्पाले दिएको शिक्षा, अनुशासन र मार्गदर्शनबाट प्रभावित विद्यार्थीहरू आज नेपालसहित विश्वका विभिन्न मुलुकमा विभिन्न पेशा र क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्दै गुरुबाट प्राप्त ज्ञान र संस्कार भावी पुस्तासम्म हस्तान्तरण हुनु महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि लोपेन ग्युर्मे छोड्राकले आत्मकथाको औपचारिक लोकार्पण गरेका थिए । सो अवसरमा बौद्ध भिक्षु तथा सहभागीहरूले आङ दावा शेर्पाको शीघ्र स्वास्थ्यलाभ र दीर्घायुको कामना गर्दै प्रार्थना पनि गरेका थिए ।
आङ दावा शेर्पाले सोलुखुम्बुको सल्लेरीस्थित श्री जनजागृति माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा लामो समय शैक्षिक क्षेत्रमा योगदान पुर्याएका छन् । हिमाली क्षेत्रमा शैक्षिक अवसर र पूर्वाधार सीमित रहेको समयमा उनले विद्यालय शिक्षाको विकास तथा विद्यार्थीहरूको शैक्षिक र व्यक्तिगत मार्गदर्शनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यक्रममा वक्ताहरूले उल्लेख गरे ।
उनको नेतृत्व र मार्गदर्शनमा अध्ययन गरेका धेरै विद्यार्थी पछि शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, सरकारी सेवा, व्यवसाय तथा सामाजिक सेवाका विभिन्न क्षेत्रमा स्थापित भएको बताइएको थियो । कार्यक्रममा सहभागी पूर्वविद्यार्थीहरूले आङ दावा शेर्पाले औपचारिक शिक्षासँगै अनुशासन, जिम्मेवारी, नैतिकता र सामाजिक उत्तरदायित्वलाई पनि महत्व दिएको स्मरण गरे ।
कार्यक्रममा पूर्वविद्यार्थी आङ फुरी शेर्पाले सोलुखुम्बुको शिक्षा तथा सामाजिक विकासमा आङ दावा शेर्पाले पुर्याएको योगदानबारे चर्चा गरे । नेपालको कृषि विकास संस्थानमा वरिष्ठ जिम्मेवारी निर्वाह गरी पछि अमेरिका आउनुभएका शेर्पाले हिमाली क्षेत्रमा शैक्षिक अवसर सीमित रहेको समयमा आङ दावा शेर्पाले विद्यार्थीहरूलाई शिक्षा र मार्गदर्शन प्रदान गरेको स्मरण गरे । उनले आङ दावा शेर्पाको आत्मकथाबाट भावी पुस्ताले पनि उनका अनुभव, ज्ञान र जीवनयात्राबाट महत्वपूर्ण शिक्षा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै पूर्वविद्यार्थी तथा पूर्वओभरसियर जिकु लामाले पनि आङ दावा शेर्पाको शैक्षिक योगदान र विद्यार्थीहरूको जीवनमा परेको दीर्घकालीन प्रभावबारे चर्चा गरेका थिए । उनले आङ दावा शेर्पा शेर्पा समुदाय वा सोलुखुम्बुका लागि मात्र नभई देशकै अमूल्य निधिका रूपमा रहेको धारणा व्यक्त गरे ।
युनाइटेड शेर्पा एसोसिएसनका अध्यक्ष इन्जिनियर तेम्बा शेर्पाले आङ दावा शेर्पालाई आफ्नो मार्गदर्शकका रूपमा स्मरण गरे । उनले लुम्बिनीको गुरुयोजना निर्माणका क्रममा आफूलाई इन्जिनियरका रूपमा काम गर्ने अवसरसँग परिचित गराउन आङ दावा शेर्पाले महत्वपूर्ण भूमिका निर्वाह गरेको र त्यहाँ काम गर्ने क्रममा विभिन्न चरणमा उनबाट महत्वपूर्ण सुझाव तथा मार्गदर्शन प्राप्त गरेको बताए ।
इन्जिनियर शेर्पाले आङ दावा शेर्पाले लुम्बिनी विकास कोषमा दुई कार्यकाल सदस्य–सचिवका रूपमा जिम्मेवारी निर्वाह गर्दै बौद्ध धर्म तथा बौद्ध संस्थाहरूको विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे । आफू नेपाल शेर्पा सेवा केन्द्रमा कार्यरत रहँदा जम्बुडाँडासम्मको बाटोलाई व्यवस्थित गर्ने कामका लागि तुसाल शेर्पा समाजमार्फत जिम्मेवारी दिलाउन पनि आङ दावा शेर्पाले सहयोग गरेको उनले स्मरण गरे । उनले आङ दावा शेर्पा शिक्षा र समाजसेवाका साथै राजनीतिक तथा सार्वजनिक व्यक्तित्वका रूपमा समेत परिचित रहेको बताए ।
इन्जिनियर शेर्पाका अनुसार आङ दावा शेर्पाले लुम्बिनीमा परमपूजनीय त्रुल्शिक रिन्पोछेसँग सम्बन्धित गुम्बा निर्माणका लागि जग्गा उपलब्ध गराउने कार्यमा सहजीकरण, रिन्पोछेलाई मानार्थ नागरिकता दिलाउने प्रक्रियामा महत्वपूर्ण सहयोग तथा हलेसीमा गुम्बा विकासका लागि समेत योगदान पुर्याएका थिए ।
द एभरेस्ट टाइम्सका प्रधानसम्पादक आङ छिरिङ शेर्पाले आङ दावा शेर्पाको शैक्षिक, सामाजिक तथा सार्वजनिक जीवनबारे चर्चा गरे । उनले नेपालमा शिक्षकहरूको हकहित र पेशागत मर्यादाका लागि भएका गतिविधिमा आङ दावा शेर्पाको सहभागिता तथा शिक्षक संघको उपाध्यक्षका रूपमा उनले निर्वाह गरेको भूमिकाको उल्लेख गरे ।
उनले लुम्बिनी विकास कोषको सदस्य–सचिवका रूपमा आङ दावा शेर्पाले निर्वाह गरेको जिम्मेवारीलाई उनको सार्वजनिक जीवनको महत्वपूर्ण अध्यायका रूपमा चर्चा गरे । उक्त जिम्मेवारीमा रहँदा उनले लुम्बिनीको संस्थागत विकास, बौद्ध सम्पदाको संरक्षण तथा बुद्ध जन्मस्थललाई अन्तर्राष्ट्रिय शान्ति र बौद्ध अध्ययनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने कार्यमा योगदान पुर्याएको कार्यक्रममा उल्लेख गरिएको थियो ।
आङ दावा शेर्पाको युनाइटेड शेर्पा एसोसिएसनसँगको लामो सम्बन्धबारे पनि कार्यक्रममा चर्चा गरिएको थियो । संस्थाको बोर्ड अफ ट्रस्टीजका अध्यक्ष छोङ्बा लामाले आङ दावा शेर्पाले सल्लाहकार तथा ट्रस्टीका रूपमा संस्थाको विकासमा निरन्तर सुझाव, अनुभव र मार्गदर्शन प्रदान गर्दै आएको बताए ।
शिक्षा, सार्वजनिक सेवा तथा समुदायमा पुर्याएको योगदानको कदरस्वरूप युनाइटेड शेर्पा एसोसिएसनले आङ दावा शेर्पालाई विशेष प्रशंसापत्र प्रदान गरेको थियो । उनका पूर्वविद्यार्थीहरूले सम्मान तथा कृतज्ञताको प्रतीकस्वरूप भगवान् बुद्धको प्रतिमा प्रदान गरेका थिए ।
कार्यक्रममा आङ दावा शेर्पाकी छोरी आङ ल्हेमी शेर्पाले परिवारका तर्फबाट सम्बोधन गर्दै कार्यक्रम आयोजना गर्ने पूर्वविद्यार्थी तथा उपस्थित समुदायप्रति धन्यवाद व्यक्त गरे । उनले कार्यक्रमलाई पुस्तक लोकार्पणसँगै आफ्ना बुबाको शिक्षा, सामाजिक सेवा र सार्वजनिक जिम्मेवारीमा आधारित जीवनयात्राको सम्मानका रूपमा लिएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आङ दावा शेर्पाले आफ्ना पूर्वविद्यार्थी, परिवारका सदस्य, आयोजक, बौद्ध भिक्षु तथा शुभचिन्तकप्रति आभार व्यक्त गरे । उनले जीवनभर कसैलाई जानीजानी हानि पुर्याउने प्रयास नगरेको उल्लेख गर्दै आफ्ना पूर्वविद्यार्थी, आफन्त, मित्र तथा शुभचिन्तकहरू एकै ठाउँमा भेला भएर सम्मान गरेको देख्न पाउनु आफ्ना लागि महत्वपूर्ण र सन्तोषजनक क्षण भएको बताए ।
उनले आफ्नो जीवनमा बुद्ध धर्मका पञ्चशीलका पाँच नैतिक आचरणलाई पालना गर्ने प्रयास गर्दै आएको पनि बताए । ती नैतिक सिद्धान्तको प्रारम्भिक शिक्षा आफ्ना पिताबाट तथा पछि पूजनीय भिक्षु अमृतानन्दका शिक्षा र प्रभावबाट प्राप्त गरेको उनले स्मरण गरे ।
आङ दावा शेर्पाले लुम्बिनी विकास कोषको सदस्य–सचिवका रूपमा काम गर्ने अवसरले आफ्नो ज्ञान र बुझाइलाई फराकिलो बनाएको उल्लेख गर्दै उक्त जिम्मेवारीका क्रममा विभिन्न समुदाय, संस्कृति र विचारसँग परिचित हुने तथा बुद्ध जन्मस्थल लुम्बिनीको विश्वव्यापी महत्वलाई नजिकबाट बुझ्ने अवसर प्राप्त भएको बताए ।
कार्यक्रममा सार्वजनिक गरिएको जानकारीअनुसार आत्मकथा बिक्रीबाट प्राप्त रकम आङ दावा शेर्पा फाउन्डेसनमार्फत सल्लेरी, सोलुखुम्बुस्थित श्री जनजागृति माध्यमिक विद्यालयलाई प्रदान गरिनेछ । उक्त रकम विद्यालय तथा भावी पुस्ताको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले उपलब्ध गराइने बताइएको छ ।
दशकौँअघि श्री जनजागृति माध्यमिक विद्यालयमा शिक्षा दिएका आङ दावा शेर्पाका पूर्वविद्यार्थीहरू अहिले नेपालसहित विश्वका विभिन्न मुलुकमा विभिन्न पेशा र क्षेत्रमा क्रियाशील छन् । तिनै पूर्वविद्यार्थीहरूको पहलमा न्यूयोर्कमा आयोजित आत्मकथा लोकार्पण तथा सम्मान कार्यक्रमले उनको शैक्षिक, सामाजिक र सार्वजनिक जीवनमा पुर्याएको योगदानसँगै गुरु र विद्यार्थीबीचको दीर्घकालीन सम्बन्धलाई समेत उजागर गरेको छ ।











