नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन थापा भारी मतान्तरका साथ सभापतिमा निर्वाचित भएका छन्। शुक्रबार बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापाले आगामी चार वर्षका लागि पार्टीको नेतृत्व सम्हाल्ने मौका पाएका हुन्। कुल खसेको मतमध्ये विजयी थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी खड्गीले ३७५ मत मात्र ल्याएका छन्।
विद्यार्थी राजनीतिबाट स्थापित भएका थापा ३५ वर्षको राजनीतिक यात्रापछि कांग्रेसको निर्विकल्प र शक्तिशाली नेताका रूपमा स्थापित हुन सफल भएका हुन्। २०४६ सालको जनआन्दोलन ताका बाल कांग्रेसको सदस्यता लिँदै राजनीतिमा प्रवेश गरेका थापा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति, नेविसंघको महामन्त्री, सांसद हुँदै स्वास्थ्यमन्त्री भइसकेका छन्। १४ औँ महाधिवेशनबाट महामन्त्री बनेका उनले जेनजी आन्दोलनपछि तत्कालीन नेतृत्वविरुद्ध विशेष महाधिवेशनको माग गर्दै पार्टीको बागडोर आफ्नो हातमा लिएका थिए। काठमाडौँमा सम्पन्न १५ औँ महाधिवेशनमा अधिकांश जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको दुई तिहाइ शक्ति थापाको नेतृत्वमा गोलबद्ध भएपछि गुटगत नेतृत्वको पुरानो अभ्यास समाप्त भएको देखिएको छ।
पार्टी सभापतिमा दोहोरिएर शक्तिशाली बने पनि थापासामु चुनौतीका पहाडहरू खडा छन्। पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरिरहेको समानान्तर महाधिवेशन र पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको किनारा लगाउनु उनको पहिलो कानुनी तथा राजनीतिक चुनौती हो। यसका साथै, महाधिवेशनबाट निर्वाचित २९६ सदस्यीय जम्बो केन्द्रीय समिति र २५ जना पदाधिकारीको व्यवस्थापन गर्नुका साथै आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभावलाई रोकेर कांग्रेसको साख जोगाउनु थापाका लागि मुख्य परीक्षा हुनेछ।









