२५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026

दसैंमा ग्यास अभाव कायमै, सहज बनाउन उपत्यकाका ६ स्थानबाट बाँढ्दै



दसैंको समयमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका विभिन्न छ स्थानबाट ग्यास वितरण तथा जुनसुकै ब्रान्डका खाली सिलिन्डर साट्न सकिने विशेष व्यवस्था सुरु गरिएको छ।

नेपाल आयल निगमको समन्वय, नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघको सहकार्यमा घटस्थापनादेखि फूलपातीसम्मका लागि यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।

यस व्यवस्थाअन्तर्गत उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरिएको ग्यास सिलिन्डर लिन सक्नेछन्। सिलिन्डर साटेबापत अतिरिक्त शुल्क तिर्नु नपर्ने र भरिएको ग्यासको तोकिएको मूल्य मात्र बुझाउनुपर्ने संघले जनाएको छ। हाल बजारमा ५८ वटा ग्यास उद्योगका ५८ ब्रान्डका सिलिन्डर प्रचलनमा रहेका र फरक ब्रान्ड साट्दा तीन सय रुपैयाँसम्म अतिरिक्त शुल्क बुझाउनुपर्ने बाध्यता रहेकाले यो कदमले उपभोक्तालाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

ग्यास वितरणका लागि बिहान ९:३० देखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ। उपत्यकाभित्र ग्यास साट्नसकिने तोकिएका ६ स्थानहरू यस प्रकार छन्:

  • कलंकी: श्रीकृष्ण र साइबाबा ग्यास डिपो (श्रीकृष्ण ग्यास उद्योग)
  • बालाजु: नेपाल ग्यास उद्योग
  • पेप्सिकोला: सगर ग्यासको गोदाम
  • सुकेधारा: बाबा ग्यासको डिपो
  • सिफल: एभरेस्ट तथा सुगम ग्यासको बिक्री केन्द्र
  • हरिसिद्धि (ललितपुर): श्रीराम ग्यासको गोदाम

विशेषगरी घरमा एउटा मात्र सिलिन्डर भएका परिवारलाई दसैंका बेला ग्यास खोज्दै पसलपसल धाउनुपर्ने बाध्यता हटाइ सहज आपूर्ति सुनिश्चित गर्नु यसको मुख्य उद्देश्य हो। सुविधाको दुरुपयोग रोक्नका लागि प्रत्येक वास्तविक उपभोक्तालाई एकवटा मात्र सिलिन्डर साट्न दिइनेछ भने सेवा लिन आउने उपभोक्ताको पहिचान खुल्ने विवरण र मोबाइल नम्बरको अभिलेख समेत राख्ने व्यवस्था मिलाइएको छ।

तथापि, जुनसुकै कम्पनीको खाली सिलिन्डर साट्न सकिने भनिए पनि व्यवहारमा कतिपय उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र स्वीकार गरेको भन्दै उपभोक्ताहरूले गुनासो गरेका छन्। कलंकीस्थित केन्द्रमा हिमाल ग्यासको खाली सिलिन्डर लिएर पुगेका स्थानीय विष्णु आचार्यले त्यहाँ श्रीकृष्ण र साइबाबा ब्रान्डका सिलिन्डर मात्र साटिएको र अन्य ब्रान्ड फिर्ता पठाउने गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। सबै ब्रान्डका सिलिन्डर साटिने प्रचार गरिए पनि व्यवहारमा सोअनुसार नहुँदा टाढा-टाढाबाट ग्यास लिन पुगेका सर्वसाधारण मारमा परेका छन्।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ११ : ०१ बजे