२५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026

राजमार्ग स्तरोन्नतिका लागि एडीबीद्वारा करिब ४७ अर्ब रुपैयाँ वित्तीय सहायता स्वीकृत



एसियाली विकास बैंक (एडीबी)ले नेपालका प्रमुख राजमार्गहरूको स्तरोन्नति तथा सुधारका लागि ३० करोड ५७ लाख ५० हजार अमेरिकी डलर (करिब ४७ अर्ब रुपैयाँ) बराबरको वित्तीय सहायता स्वीकृत गरेको छ। पूर्व–पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग र कर्णाली राजमार्गको सुरक्षा सुधारका लागि यो बजेट उपयोग गरिनेछ। यस सहायताले नेपालको सडक सञ्जाल, क्षेत्रीय व्यापार, सडक सुरक्षाका साथै विपद् र जलवायु परिवर्तनका जोखिम सामना गर्न सक्ने पूर्वाधार विकास र वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

स्वीकृत वित्तीय सहायता प्याकेजमा एडीबीको साधारण पुँजी स्रोतबाट २८ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण, एसियाली विकास कोष (एडी ADF) को क्षेत्रीय सहकार्य तथा एकीकरणसम्बन्धी कोषबाट २ करोड डलर अनुदान र प्राविधिक सहायता विशेष कोषबाट ७ लाख ५० हजार डलर समावेश छ। रकम विनियोजन अनुसार नारायणघाट–हेटौंडा सडक खण्डका लागि २४ करोड ५० लाख डलर र मुग्लिङ–आँबुखैरेनी सडक खण्डका लागि ३ करोड डलर खर्च गरिनेछ। बाँकी १ करोड डलर कर्णाली राजमार्गको सुरक्षा र स्तरोन्नतिका लागि उपयोग हुनेछ।

नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नाउड कोच्वाले यो परियोजनाले नेपालको महत्त्वपूर्ण यातायात मार्गलाई पुनर्जीवित गर्दै सर्वसाधारण, व्यवसाय र पर्यटन क्षेत्रका लागि सम्पर्क सुधार गर्ने बताएका छन्। उत्थानशील पूर्वाधारलाई वन्यजन्तुमैत्री संरचनासँग जोडेर यो आयोजनाले जैविक विविधता संरक्षण र दिगो विकासमा टेवा पुर्‍याउने उनको भनाइ छ। सरकारले ऋण रकम स्वीकार गर्ने निर्णय गरिसकेको छ भने नेपाल सरकार र एडीबीबीच आउँदो नोभेम्बर महिनामा औपचारिक ऋण सम्झौता हुने कार्यतालिका छ।

दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) राजमार्ग सुधार अन्तर्गत नारायणगढ–हेटौँडाको करिब ७० किलोमिटर सडकलाई चार लेनमा विस्तार गर्न तीन प्याकेजमा ठेक्का आह्वान भइसकेको छ। यसै खण्डमा पर्ने जैविक करिडोर ‘बरण्डाभार’ (टिकौली जंगल क्षेत्र) मा वन्यजन्तु र सवारीसाधनबीचको टकराव रोक्न २ किलोमिटर लामो भायडक्ट निर्माण गरिनेछ। अनुदान प्राप्त २ करोड डलर यसै भायडक्ट निर्माणमा खर्च हुनेछ। भायडक्टमा ६७ वटा पिल्लर रहनेछन्, जसको माथिबाट सवारीसाधन र मुनिबाट वन्यजन्तु सहजै आउजाउ गर्न सक्नेछन्।

यस्तै, भौगोलिक जटिलताका कारण बाँकी रहेको मुग्लिङ–आँबुखैरेनी ८.७ किलोमिटर खण्डलाई मस्र्याङ्दी नदीको दुवै किनारबाट विस्तार गर्ने योजना बनाइएको छ, जसका लागि एडीबीको सहमति प्राप्त हुनासाथ ठेक्का प्रक्रिया अघि बढाइनेछ। उता, नेपालकै जोखिमपूर्ण मानिने ६८२ किलोमिटर लामो कर्णाली राजमार्गको ७३ किलोमिटर खण्डमा सडक चौडा गर्ने, मोड सुधार गर्ने, ब्यारिकेट तथा ढलान निर्माण गरी सडक सुरक्षा अभिवृद्धि गर्न एडीबीको १ करोड डलर ऋण र नेपाल सरकारको २० प्रतिशत रकम उपयोग गरिने सडक विभागले जनाएको छ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ११ : ०३ बजे