गोरखाको उत्तरी भेगस्थित स्यारखोला र बुढीगण्डकी नदीमा आएको भीषण बाढीले तटीय क्षेत्रको जनजीवन निकै अस्तव्यस्त बनाएको छ।
उङ्गिलुङ खोलामा खसेको पहिरोले स्यारखोला पटक-पटक थुनिएर फुट्दा बुढीगण्डकी नदीमा लेदोसहित ठूलो बाढी आएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोले नदी थुनिँदै बग्दै गरेपछि तटीय क्षेत्रका बासिन्दाले ठूलो त्रासको सामना गर्नुपरेको छ। बाढीका कारण चुमनुब्री र धार्चे गाउँपालिकामा दर्जनौँ घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ भने नदी किनारका धेरै संरचना बगेका छन्।
यस भीषण बाढीका कारण कम्तीमा पाँच जना स्थानीय बासिन्दा सम्पर्कविहीन भएका छन्। उङ्गिलुङ खोला किनारमा गोठ सारेर भेडा चराउन बसेका चुमनुब्री–६ चुम्चेतका सोनाम लामा, मेम्मो अजी लामा, सोम भुटी लामा, कर्मा लामा र दोर्जे लामा बाढीपछि बेपत्ता भएका हुन्। बाढीको खबर पाएलगत्तै स्थानीय बासिन्दा र पर्यटकहरू घर छाडेर सुरक्षित डाँडा तथा जंगलतिर भागेका थिए। बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका स्थानीय र पर्यटकहरूको उद्धारका लागि नेपाली सेनाका हेलिकोप्टरहरू परिचालन गरी दर्जनौँ मानिसलाई सुरक्षित स्थानमा पुर्याइएको छ।
बाढीले सडक, पैदलमार्ग र मुख्य पुलहरू बगाएपछि उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको सदरमुकामसँगको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। धादिङ र गोरखा जोड्ने आरुघाटको पक्की पुल, मान्वु र सोती जोड्ने मोटरेबल पुल तथा भूकम्पपछि भीर खोपेर बनाइएको प्रसिद्ध ‘क्यान्टिलिभर’ पुलसमेत बाढीले बगाएको छ। यसका साथै मनास्लु क्षेत्र घुम्न आएका सयौँ स्वदेशी तथा विदेशी पर्यटकहरू बाटो अवरुद्ध भएपछि सुरक्षित स्थानमै रोकिएका छन् भने चुमभ्यालीतर्फको पदयात्रा तत्कालका लागि स्थगित गरिएको छ।
प्राकृतिक विपत्तिका कारण सो क्षेत्रमा सञ्चालित जलविद्युत् आयोजनाहरूमा पनि गम्भीर क्षति पुगेको छ। सल्लेरीमा निर्माणाधीन ३४१ मेगावाटको अर्धजलाशययुक्त जलविद्युत् आयोजना, दोभानको २४.५ मेगावाट र १६ मेगावाटको माछाखोला जलविद्युत् आयोजनाका क्याम्प, उपकरण, बेलिब्रिज तथा पहुँच सडकहरू बाढीले बगाएर क्षति पुर्याएको छ। स्थानीय प्रशासन र गाउँपालिकाले उद्धार र क्षतिको पूर्ण विवरण संकलनलाई तीव्रता दिँदै वैकल्पिक पैदलमार्ग खोल्ने प्रयास अघि बढाएका छन्।








