११ मंसिर २०७९, आइतबार | Sun Nov 27 2022

गायक देण्डी शेर्पाः जसले सेब्रु सिकाउँदै निकाले १९ एल्बम


२१ पुस २०७४, शुक्रबार  

0
Shares

तस्बिर: पासाङ निमा शेर्पा/फोटोहेर डटकम

एभरेस्ट टाइम्स/न्युयोर्क

दुइ दशकअघि बौद्ध टुसालमा शेर्पा लोक नृत्य सेब्रु सिकाउदै आएका कलाकार देण्डी शेर्पा यतिखेर वरिष्ठ शेर्पा लोक गायकको रुपमा चिनिएका छन् । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा शुरु गरेको प्रशिक्षण केन्द्रमा उनले डेढ दशकभित्र सयौं कलाकार उत्पादन गरिसकेका छन् ।

उनले प्रशिक्षण दिएका विद्यार्थीहरु यतिखेर विभिन्न मुलुकमा शेर्पा लोक नृत्य सिकाउन व्यस्त छन् । पुरानै शेर्पा गीतहरुमा सेबु्र सिकाउदै आएका उनले पछिल्लो समय आफ्नै रचना र संगीतमा लोकप्रिय गीतहरु गाउदै÷सिकाउदै आएका छन् । ‘सेब्रु सिकाउनु जति सजिलो छ गीतसंगीत लाग्न सजिलो छैन,’ लोक गायक देण्डी शेर्पाले भने ‘हाम्रो समाजमा गीतसंगीतमा लाग्नेहरु कम छ । सकेसम्म धेरैले जानोस भनेर नृत्यसँगै गायनतर्फ लागेको हो ।’


शुरुमा अरुले गाएको सुनेर नाच्ने र नचाउने उनी ट्रेकिङ जाँदाजादै गाउन सिकेर गायन क्षेत्रमा लागेको अनुभव सुनाउछन् । ‘बाल्यकालमा गुम्बा शिक्षा लिने क्रममा गाउँगाउँ सुनेको र बुढापाकाहरुले गाएको गीत सुनेको सम्झदै ट्रेकिङ जाँदा गाउदै गाउदै सिकें,’ उनले अनुभव सुनाए । रामेछाप बाम्ती भण्डार निवासी देण्डीले नाच्दै र गाउदै अहिलेसम्म १९ वटा शेर्पा भाषाको गीत एल्बम बजारमा ल्याएका छन् ।

उनले यो सबै एल्बम नेपालमा तयार पारेका हुन् । उनको यो सबै एल्बमहरुमा ५ वटा क्यासेटमा बनाएपनि १४ वटा एल्बम सिडीमा बनाएका छन् । गीत संगीतसँगै उनले नेपालमा करिब ५ वर्ष रेडियो एचबिसीमा शेर्पा चौतारी कार्यक्रमसमेत सञ्चालन गरेका थिए । गीतसंगीतमा लाग्ने क्रममा उनको यो एल्बमको गीतहरु नै शेर्पा समुदायको विभिन्न कार्यक्रमहरुमा बज्ने गरिन्छ ।

नेपालमा लामो समय गीतसंगीतमा लाग्दै आएका उनी सन् २००७ बाट अमेरिकामा बसोबास गर्ने क्रममा शेर्पा किदुगमार्फत गीत, संगीत र शेर्पा लोक नृत्यहरु प्रशिक्षण दिदै आइरहेका छन् । अमेरिकामा आएर पनि उनले शेर्पा लोक गीतसंगीतको संरक्षणका लागि उनले आफुले गाएको विभिन्न एल्बमको गीतहरुको शब्दहरु पुस्तकमा उतारेका छन् ।

विशेष गरी विदेशमा जन्मेका र भावी पुस्ताको लागि भनेर प्रकाशन गरेको उक्त गीति पुस्तक शेर्पा समुदायको धर्म गुरु लामा टुल्कु रिम्पोचेले विमोचन गरे । उक्त पुस्तकमा रहेका गीतहरु शेर्पा समुदायको विभिन्न महत्वपूर्ण कार्यक्रममा गाउने गीतहरुको संगालोको रुपमा रहेको छ । पुस्तकमा गीतको शब्द सम्पादनमा लामा टुल्कु, डा युला, खेन्पो ङवाङ लोन्डुप र लोपेन गिर्मि छोढक रहेको उनले बताए । पुस्तक विमोचन न्युयर इभको दिन शेर्पा किदुगमा भएको थियो ।

शेर्पा किदुगको अध्यक्ष उर्गेन शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा बौद्ध धर्म गुरु लामा टुल्कु, शेर्पा रिग्सुङ लोप्टाका प्रशिक्षक लोपेन गिर्मि छोढक, शेर्पा कल्चर सेन्टरका संयोजक कल्साङ छोपेल, शेर्पा किदुगका पुर्व अध्यक्षहरु कर्मा गेल्जेन शेर्पा, लोप्साङ ठिले शेर्पा, दावा जाङबु शेर्पा, नेपाल अमेरिका पत्रकार संघ नेजाका पुर्व अध्यक्ष आङछिरिङ शेर्पा र गेलु शेर्पाले लोक गायक देण्डी शेर्पाले गीत संगीत मार्फत शेर्पा भाषा र सस्कृति संरक्षणमा योगदान पु¥याएको भनी चर्चा गरेका थिए ।

गायक गाम्बु शेर्पाद्वारा सञ्चालन गरेको कार्यक्रममा लोक गायक देण्डी शेर्पाले पुस्तक विमोचन कार्यक्रममा संकलन भएको रकम चाँडै हिमालयन शेर्पा कला केन्द्रमार्फत म्युजिक भिडियो बनाउने योजना रहेको बताए । केन्द्र गायक देण्डी शेर्पाले सन २००० मा स्थापना गरेको हो ।

प्रकाशित मिति : २१ पुस २०७४, शुक्रबार  ८ : ४९ बजे