६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

सोनीले किन्यो माइकल ज्याक्सनका आधा गीतसंगित



माइकल ज्याक्सनका आधाजति गीत करिब ६० करोड डलरमा बिक्री भएको छ। सोनी म्युजिक ग्रुपले ती गीत किनेको बताइएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार यसको अर्थ ज्याक्सनको सांगीतिक सम्पत्ति १.२ अर्ब डलरभन्दा ज्यादा हुने देखिएको छ । एकल संगीतकर्मीको रचना यति ठूलो मूल्यमा बिक्री भएको यो पहिलो पटक हो ।

२००९ मा ५० वर्षको उमेरमा बितेका ज्याक्सन विश्वका सबैभन्दा सफल संगीतकर्मीमध्ये एक हुन् । उनका ४० करोडभन्दा ज्यादा रेकर्ड बिक्री भएका थिए । उनको १९८२ को एल्बम थ्रिलर अझै पनि सबैभन्दा बढी बिक्री हुने रेकर्डका रुपमा गिनिज वर्ल्ड रेकर्डमा कायम छ ।

उनका गीत अझै पनि स्पटिफाइमा मासिक ४ करोड पटक सुनिन्छन् । उनको बायोपिक आउने तयारी छ । जसमा उनका भान्जाले उनको भूमिका निर्वाह गर्दैछन् । यसले पनि उनको गीतप्रतिको चासो बढाउनेछ ।

संगीतकर्मीहरुको संगीत बिक्री उनीहरुका लागि निकै फाइदाजनक हुने गरेको छ। यस्तै खालको सम्झौतामा ब्रुस स्प्रिङ्स्टनले ५० करोड र बब डिलनले ४५ करोड डलर कमाएको बताइन्छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ११ : ४७ बजे