बिष्णुहरि घिमिरे/न्युयोर्क
चालिसको दशकअघिको नेपाली गा“उले समाजमा युवाको अनौठो सोख हुन्थ्यो । आफु बलियो कसरी हुने ? अर्थात टोले डन कसरी बन्ने ? मनोरञ्जनका साधन भनेकै समयसमयमा लाग्ने हाट बजार, मेला पर्दथे । मेलामा जाँदा वल्लो गा“उ र पल्लो गाँउकाबीच भिडन्त हुनु सामान्य नै भयो । त्यस्ता झडपमा कुन गाँउले जित्यो त्यसमा पनि कुन केटाले खतरा कुट्यो त्यो त्यस क्षेत्रकै चर्चित व्यक्ति हुन्थे । अहिलेको अर्थमा ‘डन’ ।
दोलखाको भेडपुका १५ बर्षे शान्त थोकरलाई पनि त्यस्तै डन बन्ने हुटहुटी जाग्यो । गा“उमा पुलिस आर्मीमा जागिर खाने धेरै थिए । उनीहरु छुट्टीमा आउँदा ‘हुस्…. हा… हु…..’ को आवाज चर्कै सुनिन्थ्यो । शान्तले चासो दिए, उनीहरुले कराते खेलेका रहेछन् । काका धनबहादुर र भीम लामा ब्याल्कबेल्ट । उनीहरु गाउँमा आइपुग्दा करातेबारे गफ गर्थे । दुइचार वटा किक् पनि देखाउँथे । त्यही किक्ले शान्तलाई पनि तान्यो । ‘ओहो बजार गएको बेला पनि यस्तै किक हानियो भने दुइ चार जना ढालिन्छ,’ यति सोच्दै किक हान्न सिक्न थाले । डोरी टाँगेर कसले माथि हान्ने भन्ने साथीहरु बीचमा होडबाजी नै हुन्थ्यो रे ।
डन बन्ने सोचले कराते सिकेका शान्त अचेल डानको सिँडी चढ्दै छन् । हालै मात्र उनले अमेरिकामा छैटौ डान हासिल गरेका छन्, यो सँगै अब उनको नाम अगाडी ‘सिहान’ थपिएको छ । सिहान शान्त थोकर । यो करातेमा सम्मानित पद हो । गुरुका पनि गुरु ।
अमेरिकामा कराते स्कूल सञ्चालन गर्ने एकमात्र नेपाली शान्त थोकरले त्यति सजिलै पाएको उपाधि होइन यो । त्यसका लागि उनले तीन दशक खर्चे । चरिकोटस्थित कालिङ्चोक माविबाट २०४२ मा एसएलसीपछि शान्त काठमाडौं आइपुगे । भीम लामा प्रहरी तालिम केन्द्रमा कराते प्रशिक्षक थिए । उनकै सिफारिसमा शान्त पशुपति वनकाली लागे, जहा“ मानबहादुर तामाङले डोजो सञ्चालन गरेका थिए ।
दोलखा हुँदा शान्तलाइ कराते भन्ने थाहा थियो । काठमाडौं आएपछि कुन कराते भन्ने प्रश्न तेर्सियो । सितोरियो र क्योकिसिनमात्र राष्ट्रिय खेलकुद परिषद्मा दर्ता थियो । वनकालीमा वादोरियो सिकाइन्थ्यो । उनी वनकाली नै लागे । ‘गा“उमा हुँदा पनि सेल्फ डिफेन्सका लागि भनेर करातेमा लगाव बढेको हो, सितोरियो सेमीकन्ट्याक्ट थियो, त्यति धेरै चर्चामा पनि थिएन, मलाइ फुलकन्टयाक्ट मन पर्ने, त्यसैले वादोरियोमा जाने निर्णय गरे,’ उनले भने, ‘बलियो बनेर हा..हु गर्न सिकेका कराते अनुशासिन खेल पो रहेछ ।’
छ बर्ष प्रशिक्षणपछि उनले ब्ल्याकबेल्ट पाए । वादोरियो कराते पनि परिषद्मा दर्ता भयो । शान्त आफै पनि कराते प्रशिक्षक बने । २०४९ सालमा पहिलोपटक वादोरियोको राष्ट्रिय प्रतियोगिता आयोजना भयो । दुइ सयजनाले भाग लिए । सबैलाइ खुला तौल समुहमा प्रतिस्पर्धा गराइयो । शान्तले स्वर्ण पदक जिते । जीवनको पहिलो स्वर्ण । गणेश खड्का, मणि लामालगायतलाई हराएका थिए ।
त्यो स्वर्णपछि शान्तले वादोरियोसँगको साइनो तोडे र सोतोकानमा लागे । पेम्बा तामाङ प्रमुख प्रशिक्षक थिए । ‘पेम्बा गुरुले जापानमा सिकेकाले राम्रो सिकाउछन् जस्तो लाग्यो,’ शान्त भन्छन् ।
वादोरियोमा ब्ल्याकबेल्ट लिएका शान्तले सोतोकानमा शुन्यबाटै सुरु गरे । ‘मैले सुरुबाटै सिकें, ६ महिनामा ग्रिन र एक बर्षमा ब्राउनवेल्ट लिएँ ।’ सोतोकान सिकेको एक वर्षमा २०५१ सालमा राष्ट्रिय प्रतियोगिता भयो । त्यसमा पनि खुल्ला तौलमा उनले स्वर्ण जिते ।
सन् २००० मा काठमाडौंमै भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सोतोकान च्याम्पियनसिपमा शान्तले दोहोरो स्वर्ण जिते । उनले एकल र टिम स्पर्धामा स्वर्ण पाएका थिए । दुइपटक विश्व च्याम्प्यिनसिप खेल्ने क्रममा उनले कास्य हात पारे । सन् २००५ मा अमेरिकाको लसभेगासमा भएको विश्व च्याम्पियनसिपमा ३५ बर्ष उमेरमाथि काता कुमुते दुबैमा कास्य जितेका थिए ।
सन् २००७ देखि अमेरिका बस्दै आएका शान्तले नेपालमा सोतोकानको प्रमुख प्रशिक्षक, नेपाल सोतोकान संघको महासचिव, कराते महासंघको सदस्य, रेफ्री कमिटी र टेक्निकल कमिटी सदस्यको जिम्मेवारी पुरा गरे । अमेरिकामा करातेका नेपाली रेफ्री र प्रशिक्षक दर्जनांै छन् । तर अमेरिकी कराते निकायमा दर्ता गराएर कराते स्कूल सञ्चालन गर्ने शान्त मात्र हुन् । सन् २००८ देखि न्युयोर्कको ज्याक्सनहाइटमा इन्टरनेसनल मार्सलआर्ट एसोसिएसन एनवाइ सञ्चालन गर्दै आएका छन् ।
उनले पहिलो र दोस्रो डान नेपालमा लिए । तेस्रो र चौथो डान जापानमा । त्यसपछि अमेरिकाको कोलोराडोमा मुख्यालय रहेको इन्टरनेसनल मार्सल आर्ट एसोसिएसन(आएइमए)बाट डान ग्रेटिङ गर्दै आएका छन् । चौथो डान सन् २००५ पाएका शान्तले पाँचौ डान सन् २०१३ मा पाए ।
अहिले अमेरिकको कोलोराडोमा छैटौं डानका लागि उतीर्ण भए । यो स“गै शान्तले दक्षिण एसियाको प्रमुख प्रशिक्षकको जिम्मेवारी पनि पाएका छन् । ‘चार दिन भएको थियो प्रयोगात्मक परीक्षा दिएको, विश्वकै छैटौं नम्बरमा आएँ, सबैले राम्रो भने, यो उपलब्धि पाउँछु भन्ने सोचेको थिइनँ,’ खुसी हुदैं उनले भने, ‘आफ्नो विगत सम्झिए, आ“खा रसाए, साथीभाइ परिवार सम्झिए, नेपाली मार्सलआर्ट सम्झिए, त्यो स्थानमा पुग्ने पहिलो नेपाली भन्दा उत्साहित भएँ ।”
आइएएम २५ बर्षे इतिहासमा छैटौं डान पाउने उनी छैटाै व्यक्ति हुन् । मार्सल आर्टमा छैटौं डान लिनका थेसिस नै बुझाउनु पर्छ । करातेबारे आफ्नो अनुभव, सम्भावना सबै पक्षलाई समेटनु पर्दछ ।
शान्त थोकरको यो सफलतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव एवं नेपाली करातेका संस्थापकमध्येका एक युवराज लामाले प्रशंसा गरेका छन् । ‘अमेरिकामा बसेर कराते स्कूल सञ्चालन गर्नु, करातेको स्प्रिटलाई अगाडी बढाउदै छैटौं डान पाउन सफल भएकोमा शान्त थोकरलाइ मेरो बधाईं र शुभकामना ।”
यस्तै पछिल्लो एक दशकदेखि अमेरिकामा रहेका नेपाल कराते महासंघ अन्र्तगत रेफ्री कमिटी र प्राविधिक कमिटिका पूर्व सदस्य सरोज भट्टराइले पनि शान्तको उपलब्धिको प्रशंसा गरेका छन् । ‘अमेरिकामा करातेलाइ निरन्तरता दिदै छैटौं डान हात पार्नु राम्रो उपलब्धि हो, शान्तलाई मेरो पनि धेरैधेरै बधाईं ।”
लामा सदस्य सचिव भएकै समयमा इन्टरनेसनल मार्सल आर्ट एसोसिएसन नेपालले परिषद्मा दर्ता आएको थियो । अहिले त्रिपुरेश्वरमा डोजो सञ्चालनमा रहेको छ । युवराज लामाले अब नेपाली खेलाडीलाई वैदेशिक प्रशिक्षणका लागि प्राथमिकता दिन पनि इन्टरनेसनल मार्सल आर्ट एसोसिएसनलाइ सुझाव दिएका छन् ।
शान्त थोकरले पनि अब आइएएमको दक्षिण एसियाली हेडक्वाटर नेपालमा राख्ने गरी आफुले योजना बनाएको बताए । ‘नेपालसहित भारतमा आइएएम सञ्चालनमा छ अब यसलाई दक्षिण एसिया भरी फैलाउने र हरेक दुइ बर्षमा साफ च्याम्पियनसिप आयोजना गर्ने योजना बनाएको छु । त्यसभन्दा अगाडी केही सेमिनार गर्नु पर्ने हुन्छ ।’