एभरेस्ट टाइम्स/काठमाडौं
शुक्रबार राजधानीस्थित साप फल्चामा दुबै किताब चराविद् डा हेमसागर बराल र सरिश्रृप विद् एवं प्राध्यपक करणबहादुर साहले संयुक्त रुपमा विमोचन गरे ।
‘लाटोकोसेरो की बाठोकोसेरो’ राजु आचार्य र यादव घिमिरेले लेखेका छन् भने यसलाई भीमप्रसाद घिमिरेले सम्पादन गरेका हुन् । आचार्य लामो समयदेखि लाटोकोसेरोसम्बन्धी अध्ययन अनुसन्धान गर्दै आएका व्यक्ति हुन् भने घिमिरेले पनि यस क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएका छन् ।
प्रकृतिका साथीहरु(एफओएन) र रुफार्ड स्मल ग्रान्ट बेलायतको आर्थिक सहयोगमा प्रकाशित पुस्तक प्रशासन, अध्ययनअनुसन्धानमा लागेका विद्यार्थी र सञ्चरकर्मीका लागि अति उपयोगी हुने लेखक आचार्यले बताए ।
किताब विमोचनपछि चराविद् डा बरालले यस किताबमा लाटोकोसेरेलाई विविध पक्षबाट केलाएर लेखेको भन्दै प्रशंसा गरे । किताबमा लाटोकोसेरोसम्बन्धी विभिन्न सूचना तथा जानकारी र यसबारे कथा समेटिएकोमा आफुलाई खुसी लागेको उनले बताए ।
ऋग्वेदमासमेत उल्लेख गरिएको लाटोकोसेरो र परेवालाई नराम्रो चराको रुपमा लिए पनि परेवाले मुक्ति पाइसकेर शान्तिको प्रतीक भइसकेको तर लाटोकोसेरो यस्तो बाठो चरा भए पनि नराम्रो चराको रुपमा समाजले हेर्ने गरेको डा बरालले बताए । उनले भने, ‘परेवाले नराम्रो भन्ने ट्यागबाट मुक्ति पायो तर लाटोकोसेरोले पाएको छैन, पक्कै पनि यो किताबले लाटोकोसेरोलाई बाठो कोसेरो रहेछन् भनेर सबैले बुझ्नेछन् ।’
प्राध्यापक एवं सरिसृपविद् करनबहादुर साहले किताब सही समयमा सार्वजनिक भएको बताए । उनले भने, ‘लक्ष्मीको पूजा गर्न नेपालीहरु जुटेका बेला उनै देवीको बाहन लाटोकोसेरोसम्बन्धी किताब सार्वजनिक भएको छ । यो एकदमै गजबको संयोग पनि हो ।’
देवीको बहानका रुपमा हेर्ने तर लाटोकोसेरोलाई नराम्रो चराको रुपमा हेर्नु आफैमा विवादास्पद कुरा रहेको उल्लेख गर्दै प्राध्यापक साहले लाटोकोसेरो सम्बन्धी रहेको अन्धविश्वास यस किताबले हटाउने विश्वास व्यक्त गरे । किताबका प्रस्तुत गरिएका लेखहरु निकै मेहेनत गरेर लेखिएको पाइएको उनले बताए ।
पहिलेदेखि नै निशाचार अन्धकारमा हिड्नेलाई राक्षस प्रवृति दिने भएकाले पनि लाटोकोसेरोलाई नराम्रो दृष्टिले हेर्न थालेको उनको दाबी थियो । किसानका बाली खाएर दुःख दिने मुसा मुख्य आहारा बनाउने लाटोकोसेरो किसानको साथी मात्र नभएर निकै बाठो चरा भएको साहले बताए ।
किताबको मुल्य ३,५० रुपैयाँ तोकेको छ ।
यसैगरी ‘नेपालका लाटोकोसेरोहरु’ गाइड किताब सोम जिसी, राजु आचार्य र यादव घिमिरेले लेखेका हुन् भने नेत्र तामाङले सम्पादन गरेका हुन् । किताबमा नेपालमा पाइने लाटोकोसेरोको परिचय राखिएको छ । यस किताब एफओएनबाट निशुल्क प्राप्त गर्न सकिने एफओएनका अध्यक्ष सुनिल थापाले जानकारी दिए ।