काठमाडौँ । आगामी मंसिर ६ गतेदेखि हुन लागेको प्रधानमन्त्री बालेन्द्र शाहको औपचारिक भारत भ्रमण दलमा सहभागी हुन निजी क्षेत्रका तीन प्रमुख छाता संगठनहरूले कुल ४५ जना उद्योगी व्यवसायीको नाम परराष्ट्र मन्त्रालयमा बुझाएका छन् । मन्त्रालयले उद्योगी व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थालाई प्राथमिकता क्रम निर्धारण गरी निजी खर्चमा भ्रमण दलमा सहभागी हुनेहरूको नाम पठाउन आग्रह गरेबमोजिम ती नामहरू सिफारिस गरिएका हुन् ।
सरकारको आग्रहअनुसार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बाट २३ जना, नेपाल उद्योग परिसंघ (सीएनआई) बाट १३ जना र नेपाल चेम्बर अफ कमर्सबाट ९ जनाको नाम परराष्ट्र मन्त्रालयमा पठाइएको छ। यद्यपि, सिफारिस गरिएका सबै व्यवसायी भ्रमण दलमा अटाउने सम्भावना न्यून छ । परराष्ट्र मन्त्रालयले कोटा तथा संख्या यकिन गरेपछि मात्र अन्तिम नामावली टुंगो लाग्ने सम्बन्धित संस्थाका पदाधिकारीहरूले बताएका छन् ।
कुन संस्थाबाट को–को सिफारिस भए?
- नेपाल उद्योग वाणिज्य महासंघ (२३ जना): महासंघले अध्यक्ष अन्जन श्रेष्ठ, निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्षहरू कृष्णप्रसाद शर्मा, नरेशलाल श्रेष्ठ, प्रबलजंग पाण्डे, कोषाध्यक्ष मनिषलाल प्रधानसहित विभिन्न विषयगत समितिका प्रतिनिधिहरूको नाम बुझाएको छ । आगामी मंगलबारसम्ममा भ्रमण दलमा सहभागी हुनेको संख्या यकिन हुने महासंघको अपेक्षा छ ।
- नेपाल उद्योग परिसंघ (१३ जना): परिसंघले अध्यक्ष वीरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, उपाध्यक्षहरू राजबहादुर शाह, हेमराज ढकाल, रोही गुप्ता, अमित मोर, भीम घिमिरे, गोकुल भण्डारी तथा स्थायी आमन्त्रित सदस्यहरू सन्दिप कुमार शारडा, विदुषी राणा, प्रासी अग्रवाल र महानिर्देशक घनश्याम ओझाको नाम पठाएको छ। यीमध्ये ५ देखि ६ जना मात्र भ्रमण दलमा समावेश हुन सक्ने सीएनआईको अनुमान छ।
- नेपाल चेम्बर अफ कमर्स (९ जना): चेम्बरले अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्षहरू उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सन्तोष कुमार पाण्डे, सुरेन्द्र कुमार श्रेष्ठ, निलकण्ठ चौलागाई र अर्जुनप्रसाद शर्माको नाम सिफारिस गरेको छ। चेम्बरबाट पनि ४ देखि ५ जनाले मात्र सहभागिताको अवसर पाउने सम्भावना छ।
कार्यक्रमको अनिश्चितता र निजी क्षेत्रको तयारी
निजी खर्चमै भारत जाने तयारीमा जुटेका उद्योगी व्यवसायीहरूलाई भारतमा आयोजना हुने औपचारिक कार्यक्रम र आफ्नो सहभागिताको स्वरूपबारे परराष्ट्र मन्त्रालयले हालसम्म स्पष्ट जानकारी दिएको छैन । विगतको अभ्यासलाई आधार मान्दै भारतीय निजी क्षेत्रले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागिता रहने अनुमानका साथ व्यवसायीहरूले आन्तरिक तयारी गरिरहेका छन् ।
भ्रमणका क्रममा द्विपक्षीय व्यापार विस्तार तथा लगानी प्रवर्द्धनलाई नै निजी क्षेत्रले मुख्य एजेन्डा बनाउने छ । विशेषगरी नेपालमा भएका पछिल्ला कानुनी सुधार र लगानीका नयाँ सम्भावनाबारे भारतीय लगानीकर्तालाई जानकारी गराउँदै नेपालमा लगानी भित्र्याउन आह्वान गर्ने गरी प्रस्तुतिको तयारी भइरहेको नेपाल उद्योग परिसंघका एक पदाधिकारीले जानकारी दिए ।









