२९ कार्तिक २०८३, शनिबार | Sun Nov 15 2026

स्थानीय तह निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि कांग्रेसले मंसिर १ देखि अभियान चलाउने



नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको आन्तरिक सुदृढीकरणका लागि मंसिर १ गतेदेखि देशव्यापी रूपमा ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने भएको छ । १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार सञ्चालन हुन लागेको यो एक महिने अभियान देशभरका सबै जिल्ला र वडा तहसम्म पुग्ने कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।

महामन्त्री पौडेलका अनुसार यस अभियानमार्फत वडा तहदेखि केन्द्रसम्मका कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिसहित करिब तीन लाख नेता–कार्यकर्तालाई परिचालन गर्ने पार्टीको तयारी छ। केन्द्रीय प्रतिनिधिहरू खटाएर सञ्चालन गरिने यस अभियानले मुख्यतया स्थानीय तहको निर्वाचनको तयारी, संगठनको प्रभावकारिता अभिवृद्धि, पार्टीको आन्तरिक रूपान्तरण र प्रमुख प्रतिपक्षीय भूमिकालाई सशक्त बनाउने उद्देश्य राखेको छ। अभियानका क्रममा १५औं महाधिवेशनबाट पारित नीतिगत तथा सांगठनिक निर्णयहरू, विधानका व्यवस्था, प्राइमरी प्रक्रिया तथा उम्मेदवार छनोटमा पार्टी सदस्यहरूको सहभागिता र अधिकारबारे जानकारी गराइने पौडेलले बताए।

यसैगरी, पार्टीको आन्तरिक कार्यशैलीमा सुधार ल्याउनु पनि अभियानको अर्को प्राथमिकता रहेको छ। बैठक सञ्चालनको विधि, मर्यादाक्रम, आसन ग्रहण, कार्यक्रम समयमै सुरु गर्ने तथा छोटो र विषयकेन्द्रित बनाउने जस्ता विषयमा नेता–कार्यकर्तालाई प्रशिक्षित गरिने महामन्त्री पौडेलले स्पष्ट पारे। स्थानीय तहका मुद्दालाई पार्टीका बैठक र निर्णय प्रक्रियासँग जोड्दै संगठन सञ्चालनमा देखिएका कमजोरी सच्याउने प्रक्रियालाई अभियानले व्यवहारमा उतार्ने कांग्रेसको योजना छ।

यसअघि पार्टी सभापति गगनकुमार थापाले कात्तिक १२ गते नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै मंसिर महिनाभर विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए। प्रतिपक्षी र स्थानीय तहको जिम्मेवारी वहन गर्न कांग्रेस तयार रहेको सन्देश आमनागरिकसम्म पुर्‍याउन तथा महाधिवेशनका दस्तावेज समुदायस्तरमा लैजान यो अभियान थालिएको सभापति थापाको भनाइ थियो।

त्यस्तै, कात्तिक १० गते पोखरामा आयोजित कार्यक्रममा सभापति थापाले एक महिने अभियानका क्रममा विगतमा कांग्रेससँग जोडिएका तर पछिल्लो समय टाढिएका मतदातासँग पुनः संवाद स्थापित गरिने बताएका थिए। मतदातालाई दोष दिनुको साटो उनीहरूको घरदैलोमै पुगेर गुनासा सुन्न, प्रश्नको जवाफ दिन र विश्वास पुनः आर्जन गर्न उनले नेता–कार्यकर्तालाई आग्रह गरेका थिए। अब नेताहरू केन्द्रमा मात्र सीमित नभई गाउँ र टोलसम्म पुग्नुपर्ने उल्लेख गर्दै थापाले स्थानीय निर्वाचनका उम्मेदवार स्थानीय पार्टी सदस्यले नै छान्ने व्यवस्था गरिएकाले उम्मेदवारका आकांक्षीदेखि नेतासम्म जनतामाझ जानुपर्नेमा जोड दिएका थिए। साथै, पार्टीभित्र चारै पुस्ताको उचित प्रतिनिधित्व सुनिश्चित गर्दै आगामी निर्वाचनमा महिला तथा सबै जातजाति, भाषाभाषी र समुदायलाई उचित अवसर दिइने विश्वास समेत उनले व्यक्त गरेका थिए।

प्रकाशित मिति : २९ कार्तिक २०८३, शनिबार  ९ : ५३ बजे