२९ कार्तिक २०८३, शनिबार | Sun Nov 15 2026

अमेरिकामा ३,६०० भन्दा बढी उडान रद्द, यातायातमन्त्रीको राजीनामा माग



अमेरिकामा शुक्रबार भएको देशव्यापी उडान स्थगन (ग्राउन्ड स्टप) को असर शनिबार पनि कायमै रहँदा देशभरका विमानस्थलहरूमा हजारौं यात्रुहरू अलपत्र परेका छन् । एयर ट्राफिक कन्ट्रोल (एटीसी) सेन्टरहरूमा भएको दूरसञ्चार अवरोधका कारण लगाइएको उक्त रोक हटे पनि उडान तालिका सामान्य बन्न अझै केही दिन लाग्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

फ्लाइट ट्र्याकिङ सेवा ‘फ्लाइटअवेयर’ (FlightAware) का अनुसार शनिबार मात्र अमेरिका भित्रिने, बाहिरिने र आन्तरिक गरी ३ हजार ६ सयभन्दा बढी उडानहरू रद्द भएका छन्। शनिबार बिहानसम्म डेल्टा एयरलाइन्सले २० प्रतिशत, युनाइटेड एयरलाइन्सले १७ प्रतिशत र अमेरिकन एयरलाइन्सले १५ प्रतिशत उडान रद्द गरेका छन्। अघिल्लो दिन १,२३९ उडान रद्द गरेको अमेरिकन एयरलाइन्सले शनिबार पनि थप ५२५ उडान रद्द गर्दै अवरोधको असर अझै रहने जनाएको छ।

न्युयोर्कका ला गार्डिया र जोन एफ केनेडी (जेएफके), न्यु जर्सीको नेवार्क लिबर्टी, डेट्रोइट, लुइसभिल, कन्सास सिटी र स्पोकेन लगायतका विमानस्थलहरू सबैभन्दा बढी प्रभावित भएका छन्। संघीय उड्डयन प्रशासन (एफएए) ले सबै एटीसी सेन्टरहरूमा सामान्य प्रक्रिया सुचारु भएको र बोस्टन, न्युयोर्क, फिलाडेल्फिया तथा वासिङ्टन डीसी क्षेत्रका उडानलाई प्राथमिकता दिइएको बताए पनि अलपत्र परेका चालक दल (पाइलट र फ्लाइट एटेन्डेन्ट) को व्यवस्थापन मिलाउन एयरलाइन्सहरूलाई हम्मेहम्मे परेको छ।

यसैबीच, ट्रम्प प्रशासनले पुरानो एयर ट्राफिक कन्ट्रोल प्रविधि र डेटाको अत्यधिक चाप (ओभरलोडेड राउटर) का कारण प्रणालीमा समस्या आएको बताएको छ। यातायातमन्त्री शन डफीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत हवाई यात्रा सुरक्षित रहेको आश्वासन दिँदै प्रणाली सुधारका लागि कंग्रेससँग बजेट माग गरेका छन्। तर, डेमोक्रेटिक पार्टीकी न्युयोर्क गभर्नर क्याथी होचुलले उड्डयन प्रणालीमा बारम्बार देखिएको कमजोरी र कर्मचारी अभावको जिम्मेवारी लिँदै मन्त्री डफीले राजीनामा दिनुपर्ने वा राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई बर्खास्त गर्नुपर्ने माग गरेकी छन्। होचुलले यस घटनाको पूर्ण छानबिन गर्न कंग्रेससमक्ष आग्रह समेत गरेकी छन्।

उता, एफएएका पूर्व राष्ट्रिय सञ्चालन प्रबन्धक बेन स्लिनीले सन् १९८० र ९० कै दशकको पुरानो प्रविधिमा निर्भर रहनु चिन्ताजनक भएको बताएका छन्। सेप्टेम्बर ११, २००१ को आक्रमणपछि देशभरका विमान अवतरण गराउने आदेश दिएका स्लिनीले प्रविधिको यति ठूलो विकास भइसक्दा पनि एटीसी उपकरणहरू निकै पछाडि रहेको टिप्पणी गरे।

शनिबार राति अमेरिकाको प्यासिफिक नर्थवेस्ट क्षेत्रमा आउन लागेको आँधीले उडान पुनर्सञ्चालनमा थप चुनौती थप्ने देखिएको छ। मौसमविद्हरूका अनुसार वासिङ्टन र ओरेगन राज्यमा वर्षा, तीव्र हावाहुरी र बाक्लो बादलका कारण सियाटल र स्पोकेन विमानस्थलका उडानहरू थप प्रभावित हुन सक्नेछन्। एयरलाइन्सहरूले यात्रुहरूलाई विमानस्थल निस्कनुअघि आफ्नो उडानको अवस्था जाँच गर्न र आवश्यक परे टिकट परिवर्तन वा रकम फिर्ता लिन आग्रह गरेका छन्।

प्रकाशित मिति : २९ कार्तिक २०८३, शनिबार  ९ : ५८ बजे